जीवन बीमा कम्पनीहरूसँग अन्तरक्रिया

0
46

काठमाडौँ । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधवार काठमाडौँमा ‘बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । 

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्नुहुँदै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने बताउनुभयो ।

लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ति मार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरू मर्जरमा जानै पर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पुँजी बढाउनुपर्‍यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुपर्‍यो । पुँजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।” 

पुँजी वृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्‍यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्‍यो । सूचना प्रविधिमैत्री हुनुपर्‍यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्‍यो । दाबी भुक्तानी समयमै हुनुपर्‍यो । लगानीको प्रतिफल पनि बढ्नुपर्‍यो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पङ्गेनी बीमकको पुँजी वृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयर धनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

https://www.ujyaalonepalnews.com/archives/19769

Previous articleसमाजवादी रत्ननगरमा पहिरो, वडाकमिटि नै एमालेमा समाहित
Next articleकर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन