जजिरा एयरवेजले जेठ २ गतेदेखि प्रत्यक्ष हवाई सेवा सुरु गर्ने

काठमाडौँ । जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरु गर्ने भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो । 

यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबिच सिधा हवाई सेवा दिँदै आएको छ । कुवेतस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ । 

वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडी मुलुक प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागि समेत थप सहज हुने दूतावासले जनाएको छ । 

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने भएको छ । एयरवेजले आज उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ः३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने जनाएको छ । 

https://ujyaalonepalnews.com/archives/19945

Previous articleजजिरा एयरवेजको जहाज बिहान १:४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने
Next articleबजेट तर्जुमाको काम तीव्र गतिमा हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।