मौन अवधीमा फेसबुकलाई डलर तिरेर आचारसंहिता उल्लङ्घन गर्दै चितवनका उम्मेदवारहरु

निराजन घिमिरे, वैशाख २८, चितवन- वैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि हिजाे मङ्गलवार मध्यराति देखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्नु हुँदैन । निर्वाचन आयोगले मौन अवधीमा पालना गर्नुपर्ने नियम बारे पटक पटक सचेत गराउँदा पनि दलहरुले यसलाई टेरेका छैनन् ।

कालिका नगरपालिकाका मेयर पदका उम्मेदवार सोम बहादुर खड्काले डलर तिरेर बुष्ट गरेको प्रचार सामाग्री ! समय बुधबार विहान ७:३० बजे देखिएको

चितवनमा मौन अवधीमा घरदैलो, नाराजुलुस, सभासम्मेलन जस्ता कार्यक्रम रोकिए पनि सामाजिक संजालमा गरिने प्रचार भने रोकिएको छैन। फेसबुक, ट्विटर, टिकटक जस्ता सामाजिक संजालमा उम्मेदवारको प्रचार प्रसार गर्दै गरिने पोष्टहरु रोकिएका छैनन् । निर्वाचन आयोगले मौन अवधीमा यस्ता सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्न पनि नपाइने बताएको छ तर अहिले प्रचार सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्नेहरू छ्यापछ्याप्ती भेटिएका छन् ।

भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार जगन्नाथ पौडेलले डलर तिरेर बुष्ट गरेको प्रचार सामाग्री ! समय बुधबार साँझ ८:३० बजे देखिएको

त्यतिमात्र नभई फेसबुकलाई डलर तिरेर बुष्ट गरिएका प्रचार सामाग्रीले सामाजिक संजाल भरिएको छ । आयोगले हिजो राती देखि नै बुष्ट गरिएका प्रचार सामाग्री तत्काल रोक्न निर्देशन दिए पनि सामाजिक सञ्जालका भित्ता दल र उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् ।

सरु थापा नामको पेज बाट बुष्ट भएको नेपाली कांग्रेसको प्रचार सामाग्री ! समय बुधबार साँझ ८ बजे देखिएको

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रचार सामग्री राख्ने र त्यसमा लाइक, कमेन्ट र शेयर गर्नेहरूलाई पनि कारबाही हुने बताएका छन् । ‘हामीले त्यस्ता सामग्री हटाउन भनेका छौँ । त्यस्ता सामग्रीमा लाइक, शेयर र कमेन्ट नगर्न भनेको छौँ, कसैले अटेरी गर्छ भने आयोगमा नेपाल प्रहरीको साइबर ब्युरो सहितको टास्क फोर्स छ, त्यसले कारबाही गर्छ, उनले भने ।

पूर्ण बहादुर बस्नेत नामक पेजबाट डलर तिरेर बुष्ट गरेको जनता समाजवादीको प्रचार सामाग्री ! समय बुधबार साँझ ८ बजे देखिएको

आयोगले कारबाहीको चेतावनी दिए पनि विभिन्न पार्टीका नाममा खोलिएका पेज र उम्मेदवार विशेष जिताऔँ अभियान नाम राखेर खोलिएका पेजहरु बाट निरन्तर निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै फेसबुकलाई डलर तिरेर प्रचार गर्ने क्रम रोकिएका छैनन् ।

गौरीगंज नामक पेजबाट डलर तिरेर बुष्ट गरेको भरतपुर महानगरपालिका वडा नं. ८ का एमालेका उम्मेदवारहरुको प्रचार सामाग्री ! समय बुधबार साँझ ८ बजे देखिएको
नेपाली कांग्रेस रत्ननगर नामक पेजबाट डलर तिरेर बुष्ट गरेको नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार प्रलाद सापकोटाको प्रचार सामाग्री ! समय बुधबार साँझ ०७:२८ बजे देखिएको

 

https://ujyaalonepalnews.com/archives/19988

Previous articleबैङ्क तथा वित्तीय संस्थामा पनि दुई दिन बिदा हुने
Next articleशिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा पनि साताको दुई दिन बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।