दक्षिणकालीमा प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं- दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको हो । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी हुनुभएको थियो ।

उहाँले सात हजार २०१ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाउनुभयो । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी हुनुभएको छ । उहाँ पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी हुनुभएको थियो । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाउनुभएको छ ।

नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/20205

Previous articleमुग्लिङ–पोखरा सडक : पश्चिम खण्डबाट विस्तारको काम सुरु
Next articleशैल्यशिखर दुर्घटनामा तीनको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।