प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा: सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य

डडेलधुरा- सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपाली एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित हुनुभयो । यस नगरपालिकाका वडाहरुमा पनि कांग्रेसको सहज जित भएको छ ।

कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वशन्ती पाल विजयी हुनुभएको छ ।

कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, विपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन् । विसं २०७४ को निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा (एमाले) ले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा कांग्रेसले चार पालिकामा मात्र विजय भएको थियो ।

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ ।

त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको कांगे्रसले अहिले सम्पन्न स्थानीय निर्वाचनमा पालिका प्रमुखसहित पाँच वडा जितेको छ ।

गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ । यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो ।

अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको कांग्रेस अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा (एकीकृति समाजवादी) ले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ ।

भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित चार वडामा जित हासिल गरेको छ । त्यसैगरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ । अर्काे एकमा स्वतन्त्र उम्मेदबार आएका छन् ।

डडेल्धुरा कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहराले डडेल्धुराका जनताले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको विश्वास यस पटकको स्थानीय तहको निर्वाचनमा प्रकट गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, डडेल्धुरमा गठबन्धन थिएन बरु समझदारीमा सबै दलले आ–आफ्नो तवरबाट निर्वाचनमा उठेका थियौँ र यो देशको विकास गर्ने र मुलुक आर्थिक तथा राजनीतिक सङ्कटमा परेका बेला निकास दिनसक्ने पार्टी नेपाली कांग्रेस र नेता शेरबहादुर देउवा नै हुन् भन्ने विश्वासका साथ यहाँका जनताले स्थानीय तहमा मत दिएका हुन् ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीम साउदले यसअघिका अरु दलका जनप्रतिनिधिहरुले कुरामात्र गरेका तर विकासका काम नगरेका कारण यसपाली यहाँका नागरिकले कांग्रेसलाई छानेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसको वर्तमान नेतृत्वको नीति, जिल्लाका नेता तथा कार्यकर्ताहरुको सक्रियता तथा जिल्लामा पार्टी सभापति देउवाप्रति यहाँका जनताले गरेको भरोसाका कारण पनि अहिलेको जित हात लागेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस डडेल्धुराकी महासमिति सदस्य सरस्वती खड्काले नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले सुदूरपश्चिमका महिला र त्यसमा पनि डडेल्धुराका महिलामा गरेको लगानीको परिणाम अहिलेको स्थानीय तहको नतिजा हो भन्नुहुन्छ ।

खड्काले भन्नुभयो, डा देउवाले यहाँका महिलाका घरेलु हिंसा तथा उनीहरुमा परेका अनेक समस्या बुझ्ने र तिनको समाधान गरी महिला सशक्तीकरणमा हरबखत आफैँ लाग्ने गर्नुहुन्छ । त्यस्तै पछिल्लो समय उहाँ सुदूरपश्चिममा नै खट्नुभयो र डडेल्धुराका चुनावी सभाहरुलाई पनि सम्बोधन गर्नुभयो । यसका कारण पनि यहाँ हामीले राम्रो परिणाम हात पार्न सकेका हौँ ।

गएको महाधिवेशनबाट जिल्लामा छानिएको नयाँ नेतृत्वको सक्रियता र सो नेतृत्वले पार्टीका नीति तथा कार्यक्रमहरु जनताको घरघरसम्म पु¥याउन सकेका कारण पनि यहाँको एक समूहले कांग्रेस पार्टी छोडेर अलग भए पनि यो निर्वाचनमा पार्टीले राम्रो परिणाम हात लागेको उहाँको धारणा छ ।

स्थानीय निर्वाचनको मतगणना जारी रहेका बेला नागरिकहरुले प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीको जिल्ला झापाको परिणामप्रति चासो राखिरहेका छन् । प्रधानमन्त्रीको जिल्लामा उहाँले नेतृत्व गरेको दल नेपाली कांग्रेसले राम्रो नतिजा प्राप्त गरिसकेको छ भने उता झापाबाट भने परिणाम आइरहेका छन् ।-

https://ujyaalonepalnews.com/archives/20352

Previous articleवडा नं. १६ को १०० मत गणना गर्दा आएको नतिजा
Next articleरत्ननगर १३ को १५६४ मतगणना गर्दा आएको परिणाम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।