‘मुलुकमा नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधारको खाँचो’

काठमाडौँ । मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन नसक्ने काठमाडौँमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । 

अर्थ विज्ञ डा स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’ पुस्तक विमोचन तथा समसामयिक अर्थ¬ राजनीतिक विमर्शमा सहभागी समाजशास्त्री, अर्थ विज्ञ तथा राजनीतिज्ञले उक्त कुरामा जोड दिनुभएको छ ।
 राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समाजशास्त्री उषा झाले नेपालमा सबै कुरा ठिक भए पनि ‘प्रणाली’ नरहेको बताउनुभयो । मुलुकलाई दिगो विकासतर्फ लैजाने हो भने नागरिकलाई अगाडि राखेर हेर्नुपर्नेमा उहाँको जोड थियो । 

पाँच वर्षको काम सोचेर योजना बनाउँदैमा विकास नहुने तर्क गर्दै उहाँले भन्नुभयो, “बढ्नुपर्छ, पाँच वर्षको योजनाले मुलुकमा दिगो विकास हुन्न, कम्तीमा २५ वर्षको योजना निर्माण गर्नुपर्छ, त्यो गरेन भने पुस्तकको शीर्षक जस्तै विकासमा जहिले पनि अतृप्त अवसर रहिरहन्छ ।”

समाजशास्त्री झाले थप्नुभयो, “सरकार जस्तो सुकै आओस् चलिरहेको कुरामा कहाँ अतृप्त अवसर छन् त्यसमा उसले थप्न सक्छ, तर योजना २५ वर्षको बनाएर कार्यान्वयन गर्नुपर्छ ।” उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान दिन सके आर्थिक विकास र मानव संसाधन विकासमा सघाउ पुग्नेमा उहाँको भनाइ थियो । उहाँले नीति निर्माणका हिसाबले नेपाल धनी रहेको तर त्यो कागजमै सीमित रहेको जिकिर गर्नुभयो । 

पुस्तकका लेखक अर्थ विज्ञ डा स्वर्णिम वाग्लेले विगतमा नेकपाको सरकारसँग धेरे अवसर हुँदाहुँदै काम गर्न नसकेको टिप्पणी गर्दै कुर्सीमा जाने मात्रै होइन विकासको खाका पहिलेदेखि नै तयार गरेर राजनीतिक पार्टीले काम गर्नुपर्नेमा जोड दिनुभयो । “नेकपाको सरकारले त्यसबेला सुरुको वर्ष स्थिरताका सवालमा केही राम्रा कुरा गरेको हो । अर्को वर्ष असाधारण अवसरमा उपलब्धि औसत भयो, मैले मेरो किताबमा उल्लेख गरेको छु, तेस्रो वर्ष अस्थिरताले काम भएन, सबै क्षेत्रमा धावा बोल्ने काम मात्रै भयो”, उहाँले भन्नुभयो । 

दलहरूमा के गर्ने भनेर पूर्व तयारी नै हुन्न । यसका लागि फराकिलो टिम चाहिन्छ, त्यो हुन सकेन यस्ता कमजोरीबाट अब सिक्नुपर्छ, आउँदो सरकार जोगिनुपर्छ, उहाँले सुझावात्मक टिप्पणी गर्नुभयो । उहाँले कुर्सी मात्रै जोगाएर केही नहुने भएकाले नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधार जरुरी रहेको बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वाग्लेले शक्ति पृथकीकरणमा राजनीति हाबी हुँदै गएको महसुस भएको बताउँदै नागरिक समाजबाट संरचनामा पुनः मूल्याङ्कन गर्न जरुरी छ भन्नुभयो । उहाँले राजनीति सङ्लो नभई मुलुक विकासतर्फ अघि नबढ्ने जिकिर पनि गर्नुभयो । वाग्लेले पूर्वाधारमा मात्रै बजेट खन्याउँदैमा अपेक्षित प्रतिफल नआउने दाबी गर्नुभयो ।  

बहसमा भाग लिँदै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दलमा तयारी नपुग्दा सरकारमा पुगेपछि कसरी कुर्सी जोगाउने र कसरी सरकार बदल्ने भन्ने खेलमा मात्रै ध्यान पुग्ने गरेको उल्लेख गर्नुभयो । दलहरू सच्चिनुपर्ने स्वीकार गर्दै नेता थापाले काँग्रेसले त्यो अभ्यास सुरु गरिसकेको पनि बताउनुभयो । त्यसको पहिलो काम सदस्यता वितरण प्रणालीबाटै सुरु भएको थापाले तर्क प्रस्तुत गर्नुभयो । 

विगतमा सरकारले गरेका राम्रा र नराम्रा कामबाट सिक्दै अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । “अब पाँच वर्ष अवसर पाउँदा हामी हरेक वर्ष यो यो काम गर्ने भन्ने तयारीका साथ जानेछौँ, विधागत रुपमा आएका मान्छेहरूको सहयोग लिनेछौँ”, थापाले योजना सुनाउनुभयो ।

उहाँले सरकार गठन हुँदैमा सबै काम गर्न नसक्ने बताउँदै त्यसमा सबै नागरिकको उत्तिकै जिम्मेवारी रहने बताउनुभयो । थापाले भन्नुभयो, “अहिलेसम्म कुनै पनि राजनीतिक दलभित्र सरकारमा कसरी पुग्ने भन्ने मात्रै तयारी छ, त्यसपछि के गर्ने भन्ने तयारी शून्य छ, त्यसलाई बदल्न सक्नुपर्छ ।” उहाँले काँग्रेसले पार्टीको सदस्य प्रणालीलाई सुधार्नुपर्छ भनेर काम सुरु गरिसकेको बताउनुभयो । उहाँले निर्वाचनमा उम्मेदवारी चयन गर्ने विषय पनि स्थानीय स्तरबाटै छनोट गर्नुपर्छ भन्नुभयो । 

उहाँले कुनै पनि एजेण्डाका साथ म काङ्ग्रेसबाट चुनाव लड्छु भनेर कोही आयो भने, उसले लड्न पाउने गरी व्यवस्था आओस् भन्ने कोसिस हाम्रो छ, भन्नुभयो । उहाँले पार्टी सुदृढीकरण पनि जरुरी रहेको औँल्याउनुभयो । रासस

https://ujyaalonepalnews.com/archives/20541

Previous articleधरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी
Next articleज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने हतुवागढी गाउँपालिकाको पहिलो निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।