छाला जुत्ताजन्य उत्पादनहरूको मेला सम्पन्न

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी छाला जुत्ताजन्य उत्पादनहरूको मेला सोमवार सम्पन्न भएको छ ।

छाला जुत्ता उत्पादकहरूको सङ्घ, नेपालद्वारा आयोजित व्यापार मेलामा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

२६ दिनसम्म चलेको मेलामा सवा दुई लाखले भ्रमण गरेको सङ्घले जनाएको छ । मेलाको क्रममा दैनिक करिब १५ लाख रुपैयाँ बराबरको कारोबार भएको र मेलामा नेपाली उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको मेला आयोजक समितिले जनाएको छ ।

नेपाली छाला जुत्ताहरूको डिजाइन र गुणस्तर नेपाली उपभोक्ताहरूले मन पराएको र यसलाई राज्यले पनि नेपाली कूटनीतिक नियोगहरू मार्फत युरोप लगायतका मुलुकहरूमा बजार खोज्न सहयोग गरेको खण्डमा त्यहाँ व्यापार विस्तार गरी मुलुकको व्यापार घाटालाई कम गर्न सकिने संघका अध्यक्ष नानीराज घिमिरेले बताउनुभयो ।

हाल नेपालमा वार्षिक ६ करोड जोर जुत्ता उत्पादन हुने गरेको छ । करिब १५ सयको हाराहारीमा रहेका नेपाली छाला जुत्ता उद्योगहरूमा हाल करिब ४० प्रतिशतसम्म स्वदेशमा उत्पादित वस्तुहरूको प्रयोग हुने गरेको पनि अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

यस उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादनमा राज्यले प्राथमिकता दिई सहयोग गरेको खण्डमा आगामी २,३ वर्षमा ८० प्रतिशत कच्चा पदार्थ नेपालमा नै तयार गर्न सकिने छाला जुत्ता उद्योगीहरूको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/20568

Previous articleथप १० जनामा कोरोना सङ्क्रमण पुष्टि
Next articleराप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।