पर्साका १४ पालिकामा १ अर्ब ७५ करोड रकम बेरुजु

वीरगन्ज । वीरगन्ज महानगरपालिका सहित पर्साका १४ स्थानीय पालिकामा अहिलेसम्म १ अर्ब ७५ करोड रकम बेरुजु देखिएको छ ।

वीरगन्ज महानगरपालिका सहित बहुदरमाई, पर्सागढी, पोखरीया नगरपालिका र ठोरी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी लगायत दश गाउँपालिकामा ठूलो मात्रामा बेरुजु देखिनुमा निवर्तमान जनप्रतिनिधिहरूको कमजोरी रहेको भेटिएको छ ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले सरकारी कोषबाट जथाभाबी पेस्की बुझेर खर्च गरेकोले बेरुजु रकमको मात्रा थपिँदै गइरहेको बताइएको छ ।

त्यति मात्र नभई स्थानीय तहका कर्मचारीहरू प्रलोभनमा परि नियम विपरीत भुक्तानी दिँदा पनि बेरुजु रकम बढ्दै गइरहेको कोष नियन्त्रकको कार्यालय पर्साले जनाएको छ ।

स्थानीय तहमा कामकाजको लागी खटेका प्रमुख प्रशासकीय अधिकृत वा लेखा अधिकृतहरूले गाउँपालिकाको रकम जथाभाबी खर्च गर्ने त्यसपछि सरुवा माग गरी हिँड्ने परम्परा मधेस प्रदेशका जिल्लामा देखिएको छ ।

लेखा परीक्षणको वार्षिक प्रतिवेदन २०७८ अनुसार वीरगन्ज महानगरमा ७५ करोड ६७ लाख ३० हजार बेरुजु रकम रहेको देखाएको छ ।

यता जगरनाथपुर गाउँपालिकामा २० करोड ७३ बेरुजु रकम भेटिएको प्रतिवेदनमा उल्लेख छ । बहुदरमाई नगरपालिकामा १४ करोड ७७ लाख, सखुवाप्रसौनी गाउँपालिकामा १३ करोड ३१ लाख ४३ हजार, ठोरी गाउँपालिकाको ११ करोड ५८ लाख ३ हजार, धोबिनी गाउँपालिकाको १० करोड ३१ लाख रकम बेरुजु देखिएको छ ।

त्यसैगरी पोखरिया नगरपालिकाको ९ करोड ९ लाख, पर्सागढी नगरपालिकाको ५ करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकाको ६ करोड ४८ लाख, पकहामैनपुर गाउँपालिकाको १ करोड १७ लाख, कालिकामाई गाउँपालिकाको ३ करोड ६० लाख, जिराभवानी गाउँपालिकाको ७ करोड ६० लाख, छिपहरमाई गाउँपालिकाको ९ करोड १५ लाख, विन्दवासिनी गाउँपालिकाको ५ करोड ९५ लाख रकम बेरुजु देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/20639

Previous articleनवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी
Next articleकाठमाडौंका २७ वडामा मत गणना सकियो, बालेन्द्र अगाडि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।