बझाङमा फस्फोरस खानी उत्खनन गरिने

0
18

बझाङ । आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताउनुभएको हो । 

यसअघि पनि सरकारले पटक पटक बझाङमा फस्फोरस उत्खनन गरी अन्वेषण र अनुसन्धान सुरु गर्ने बताउँदै आएको थियो । २०७४ सालमा बझाङबाट फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा पुर्‍याइए पनि त्यसपछिका कुनै पनि विवरण सार्वजनिक भएनन् । 

नेपालका अन्य स्थानमा पनि फोस्फेट नभेटिएका होइनन्, तर बझाङ र बैतडीको सीमा क्षेत्रमा यसको उत्खननको सम्भावना अलि बढी छ भन्ने प्रारम्भिक अनुमानका आधारमा फस्फोरस तत्त्वको अन्वेषण र अनुसन्धान सुरु गर्न लागिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र खनालले २०७४ सालमा बताउनुभएको थियो । बझाङका तारुगाढ, जुईलगाड, गोइचान, कन्देचौर लगायतका क्षेत्रमा विभागले फोस्फेट खानी रहेको अनुमान गरिएको छ । 

एक अध्ययनले बझाङ र बैतडीमा गरी करिब ९० लाख मेट्रिक टन फोस्फेट उत्खनन गर्न सकिने देखाएको छ । तर, सरकारी तवरबाट भने पहिलो पटक यसका बारेमा विस्तृत अध्ययनको प्रक्रिया २०७४ सालमा सुरु भएको थियो । फोस्फेट फस्फोरस तत्त्वको प्राथमिक स्रोत हो । यदि नेपालमा फस्फोरस उत्पादनका लागि फोस्फोराइट उत्खनन गर्न सकिए यसले ठूलो आर्थिक लाभ लिन सकिने विभागको ठम्याइ छ । 

‘रासायनिक मल उत्पादनका लागि यो अत्यावश्यक हुन्छ ।,’खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र खनालले भन्नुभयो, ‘फस्फोरसको उत्पादन नेपालमै भए यसले नेपालमै रासायनिक मल उद्योग स्थापनामा पनि प्रोत्साहन दिन्छ ।’ अहिले नेपालमा झण्डै वार्षिक ३ लाख मेट्रिक टन रासायनिक मल विदेशबाटै आउँछ । रासायनिक मलको तीन महत्त्वपूर्ण तत्त्व नाइट्रोजन, फस्फोरस र पोटासियम हुन् । यसमध्ये फस्फोरस उत्खनन नेपालमै भए त्यसले देशलाई अधिकतम लाभ मिल्ने विश्वास सरकारको छ । 

फस्फोराइट, रासायनिक कृषि मल निर्माण गर्ने मुख्य खनिज कच्चा पदार्थ हो । नेपालजस्तो कृषिमा निर्भर अर्थतन्त्र भएको देशमा फस्फोराइट खानीको रणनीतिक महत्त्व हुन्छ । नेपालमा फस्फोराइट प्रारम्भिक अन्वेषणको काम धेरै पहिलेदेखि हुँदै आएको छ । 

केही स्ट्रोमाटोलाइट जीवशेषसहितको डोलोमाइट चट्टान र कालो चेर्ट, क्ले माटोबाट बनेको सेल चट्टानमा नेपालको बैतडीको ढिकगढदेखि बझाङको टारुगढसम्म करिब ५० किलोमिटर लम्बाइमा ७० सेन्टिमिटरदेखि ४.७ किलोमिटर मोटाई भएका पाँचदेखि ३२ प्रतिशत फस्फोराइट खनिजयुक्त भण्डार रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

https://www.ujyaalonepalnews.com/archives/20790

Previous articleआगामी आवको बजेट : वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने
Next articleराष्ट्रपति महिला उत्थान कार्यक्रमलाई परिमार्जन गरिने