६५५ स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब बजेट विनियोजन 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुहुँदै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७९–२०८७ कार्यान्वयन गरिने र पुराना, जीर्ण अवस्थामा रहेका स्वास्थ्य पूर्वाधारलाई नयाँ मापदण्डअनुसार निर्माण गर्नका लागि बजेट व्यवस्था गरिएको उल्लेख छ । 

पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व, शिशु स्याहार, पोषण कार्यक्रम, खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख गरिएको छ । 

अर्थमन्त्री शर्माले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा उपलब्ध गराई मातृ मृत्युदर घटाई आमा सुरक्षा कार्यक्रमको रकम वृद्धि गरिएको उल्लेख गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/20794

Previous articleस्वच्छ खानेपानीको लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन
Next articleउत्पादनसँग जोडियो प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रमार्फत रोजगारी प्रदान गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।