तारा एअरको दुर्घटना: जीवित कोही भेटिएनन्

काठमाण्डाै – तारा एअरको दुर्घटनाग्रस्त जहाज फेला पारेका यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताउनुभएको छ । उज्यालोसँग कुरा गर्दै उहाँले आफूहरुले बिहान ६ बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको र कोही जीवित छ कि भनेर हेर्दा नदेखेको बताउनुभयो ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उद्धार टोली पुगेको छ । त्यहाँ पुगेका होटल व्यवसायी इन्दुसिंह शेरचनले पनि कोही जीवित अवस्थामा नभेटिएको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार गएको कात्तिक २८ गते हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा पर्ने सानोशेरे भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । ‘पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ,’ उनले भने, ‘पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।’

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए । यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/20893

Previous articleबजेटमा चितवन : सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल
Next articleदुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।