बीरगंज । वीरगन्जका उद्योगी व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेट समग्रमा अति सकारात्मक भएको र यसको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
बीरगंज चिनी कारखाना, कृषि औजार कारखाना पुनः सञ्चालन वीरगन्ज पथलैया औद्योगिक व्यापारिक राजमार्ग निर्माण, निजगढ अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका लागि बजेट विनियोजन लगायतका विषयहरू बजेटमा समेटिएको हुँदा नयाँ बजेट उत्साहपूर्ण भए पनि कार्यान्वयन हुनेमा आफूहरू ढुक्क नभएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले बताउनुभयो ।
अध्यक्ष गुप्ताले नयाँ बजेटमा व्यक्तिगत आयकरको सीमारेखा बढाइएको बताउँदै यसलाई आफूले सकारात्मक रूपमा लिएको बताउनुभयो ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले सरकारले सबैलाई खुसी पार्ने खालको बजेट ल्याएको प्रतिक्रिया दिनुभयो ।
यसैगरी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले बजेट घाटा चर्को रुपमा बढेको अवस्थामा नेपालमा उत्पादित बस्तुको निर्यातलाई सहजीकरण गरी निर्यातजन्य उद्योग स्थापनाका लागि सरकारले ठोस नीति ल्याउनु पर्नेमा त्यो हुन नसकेको गुनासो गर्नुभयो ।
वीरगन्जका उद्योगी व्यवसायीहरूले निजी क्षेत्रका लागि सिमेन्ट र फलाम निर्यातलाई ८ प्रतिशत नगद अनुदान दिने कार्य राम्रो पक्ष रहेको बताएका छन् ।
https://ujyaalonepalnews.com/archives/20910


