Home Uncategorized आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो : एमाले उपाध्यक्ष पौडेल

आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गर्नुभएको छ ।

पूर्वअर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाउनुभयो । आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उहाँको भनाइ थियो । उहाँले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाउनुभयो । नेता पौडेलले भन्नुभएको छ, “नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।”

सो छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेका दिनहरु तोक्नुभएको छ ।

दोषीलाई कारबाही गर्न माग

छलफल सुरु हुनुअघि समय माग गरेर सांसद अञ्जना विशङ्खेले बाँकेको एक हत्याको घटनामा दोषीलाई कैदबाट उम्काएर निर्दोष सुन्दर हरिचनलाई कैद पठाइएको भनी आएको समाचारबारे ध्यानाकर्षण गराउँदै न्याय प्रशासन र संलग्न कर्मचारीलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/20942

Previous articleसंसदमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु
Next articleराष्ट्रिय सभामा बजेट माथिको छलफल जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।