तमोर कोरिडोर बन्ने

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा उक्त करिडोरका लागि प्राथमिकतामा राखी आवश्यक रकमको व्यवस्था गरिएको हो ।

चीन र भारतलाई जोड्न  कोरिडोर नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलामा अहिले कोरिडोरको अन्तिम ट्र्याक खोल्ने काम भइरहेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक चीनको निर्माण कम्पनीले दुई वर्ष अगाडि नै खोलिसकेको छ । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङचुङगोलाको मगावामा अहिले ट्र्याक खोल्ने काम भइरहेको छ ।

उत्तर दक्षिण लोक सडक आयोजनाका सूचना अधिकारी माधव पौडेलका अनुसार भारतको जोगवनी हुँदै कोरिडोरले १ नम्बर प्रदेशको राजधानी विराटनगर क्षेत्रबाट  भारत र चीनसँग सडक सञ्जालले जोड्ने जोडने भएको छ । सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर र  ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर दूरी छ । 

तमोर कोरिडोर जम्मा २५४ किलोमिटर दूरीमा पर्दछ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतामा पर्दछ । तीन सय चौध किलोमिटरले मित्रराष्ट्र भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने कोरिडोरका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको हो ।  

धनकुटाको मूलघाटबाट खन्न सुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा अहिले ट्र्याक खोल्ने काम भइरहेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष  छेतेन लामाले बताउनुभयो । तमोर कोरिडोर निर्माणका लागि तीन वटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको थियो । सबै ब्लकको पहिलो ट्र्याक खुलाइएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको गोलाङचुङगोको सुकेपानीदेखि गैरीपटीसम्मको दुई किलोमिटरको काम मात्र बाँकी रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझीटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्ने छ ।

यो सडक खण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको आयोजनाले जनाएको छ ।   

तमोर कोरिडोर विसं २०६५ मा सडक उपभोक्ता समिति गठन गरी निर्माण सुरु गरिएको  थियो । विसं २०६७ मा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको हो । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको बताइएको छ । यो सडक निर्माण भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ । रासस

https://ujyaalonepalnews.com/archives/20946

Previous articleवर्षाद्का कारण मेलम्चीको पानी बन्द
Next articleलोमान्थाङको पर्यटन पुरानै लयमा फर्कियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।