जनताले बजेट बुझेकाले कार्यान्वयन हुन्छ: अर्थमन्त्री शर्मा

0
67

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको छ ।

अर्थमन्त्री शर्माले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गत वर्षको भन्दा यो वर्ष बजेट वृद्धि भएको भन्नुहुँदै विद्यार्थीहरू कक्षा १२ बाट निस्कँदा क्षमतासहित सीपयुक्त भएर निस्कने गरी बजेट ल्याइएको बताउनुभयो ।

file photo

बजेट चुनाव केन्द्रित नभएको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले यस वर्ष २५ प्रतिशतलाई मात्र विद्युतीय चुल्हो उपलब्ध गराउन सकिने विज्ञहरूले बताएको जानकारी दिँदै सबैभन्दा पहिला सिंहदरबारबाटै यसको थालनी गरिने बताउनुभयो ।

किसान पेन्सन अहिलेको आवश्यकता भएकाले किसानलाई सम्मान गर्ने, किसानको दबिएको मनोबललाई उठाउने कार्यक्रम भएको तथा राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव नहुने अर्थमन्त्री शर्माले प्रस्ट गर्नुभयो ।

सांसदहरुले बजेटमाथि छलफल गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेटको कमी, पूर्वाधार क्षेत्रमा महत्त्वाकाङ्क्षी योजना, छोटो समयमा बजेट कार्यान्वयन कसरी हुन्छ, विद्युतीय चुल्हो चुनावसँग सम्बन्धित भएको, चुनावी बजेट लगायतका टिप्पणी तथा प्रश्न गरेपछि राष्ट्रिय सभाको बैठकमा जवाफ दिनुहुँदै मन्त्री शर्माले कृषि आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिति तर्फ र वञ्चितिकरणबाट समावेशीकरणतर्फ जानु नै बजेटको सार भएको बताउनुभयो ।

बजेट देशको आवश्यकताको समाधान भएको र जनताले बुझेकाले कार्यान्वयन हुने उल्लेख गर्दै अर्थमन्त्री शर्माले बजेटमा संरचना, विधि, कार्यक्रम, परिणाम, स्रोत साधन, जनशक्ति परिचालनको विधि प्रस्ट भएको पनि बताउनुभयो ।

जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुभएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/21003

Previous articleनिजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा विकास गर्ने तयारी
Next articleनेपाल इजरायलबीचको सम्बन्ध अझै सुमधुर हुन्छ : मन्त्री कार्की