बजेटमा सबैको स्वाधिनता छ, मिलेर कार्यान्वयन गरौं : अर्थमन्त्री  शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” ले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरूसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९/०८० को बजेट सार्वजनिक गरेको बताउनुभएको छ । उहाँले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

नेपाल आर्थिक सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दुरदराजका नागरिक र रौतहटका अल्पसङ्ख्यक परिवारदेखि कर्णालीको जनजातिसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको स्वाधिनता रहेको बताउनुभयो । ‘यो बजेट तपाईँहरूको हो, म त केबल प्रतिनिधि मात्र हुँ’ उहाँले भन्नुभयो, ‘मेरो क्षमताले भ्याएसम्म सबैको विषयलाई सम्बोधन गर्ने गरी बजेट बनाएको छु । अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’

आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उद्देश्य हासिल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ उहाँले भन्नुभयो । उहाँले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी दिनुभयो ।

कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बुलेन्स तथा बजारका लागि सङ्कलन केन्द्रको विषय राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले किसानलाई उत्साहित गर्न, परिचय पत्र वितरण गर्न र कृषि पेशाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो । शिक्षामा बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीपसमेत सिकेर श्रम बजारमा आउने उहाँको दाबी छ ।

आयात प्रतिस्थापन
मुलुकमा कृषि बस्तुको ठूलो उत्पादन सम्भावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फलफूलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले बताउनुभयो । ‘हामीसँग जे छ, त्यसकै अधिकतम उत्पादन गर्ने र आत्मनिर्भर भई निर्यात गर्ने लक्ष्य राखिएको छ । त्यसैले यो असम्भव भन्ने छैन’ उहाँले भन्नुभयो,‘हामीले दोब्बर निर्यात गर्ने भनेका छौँ । बजेटको सही कार्यान्वयनबाट उत्पादन वृद्धि गर्ने हो भने मैले त सम्भव देखेको छु ।’

जुन सुपारी आयात गर्‍यो, त्यहीँ सुपारी निर्यात गर्ने विषय अब इतिहास हुने उहाँको भनाई थियो । मुलुक भित्रै उत्पादन भएको बस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकतम स्थान दिएको उहाँले जानकारी दिनुभयो ।

पुँजी बजार सुधारको लक्ष्य
अर्थमन्त्री शर्माले पुँजी बजार सुधारका लागि निक्कै महत्त्वपूर्ण विषय बजेटमा समावेश गरेको जानकारी दिनुभयो । बजेटको बुँदा नम्बर ३३२ पढ्न र पुँजी बजारका विषयमा धारणा बनाउन उहाँले आग्रह गर्नुभयो । बजेट वक्तव्यको बुँदा नम्बर ३३२ मा ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ’ भनी उल्लेख छ ।

यस्तो व्यवस्था पुँजी बजारका लागि महत्त्वपूर्ण भएको उहाँको भनाई थियो । ‘यस्तो व्यवस्थाले पुँजी बजार र प्रतिस्पर्धा बढ्ने कुरा गरेको छ । गैर आवासीय नेपालीलाई सेयर बजारमा लगानीको वातावरण बनाउने र वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्कासनमा १० प्रतिशत सेयर हिस्सा छुट्याइदिने कुराले सकारात्मक सन्देश दिने मेरो विश्वास छ’ उहाँले भन्नुभयो ।

https://ujyaalonepalnews.com/archives/21007

Previous articleदेशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
Next articleकर्मचारी समायोजनसम्बन्धी विवाद बृहत् पूर्ण इजलासमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।