
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितो पत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्त्वका साथ समावेश गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले यही जठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हकहित संरक्षण गर्ने विषय समावेश छ ।
बजेटले शेयर बजारको विकास र विस्तारमा जोड दिएको भए पनि कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागिरहेको छ ।
यस साता शेयर कारोबार भएका चार दिनमा लगातार बजार ओरालो लागेको छ । आइतबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन ।
सोमबारदेखि बिहीबारसम्म आइपुग्दा चार कारोबार दिनमा नेप्से परिसूचक १११ अङ्कले ओरालो लागेको छ । बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थात् जेठ १६ गते सोमबार शेयर बजार ५० अङ्कभन्दा बढीले ओरालो लाग्यो । जेठ १७ गते मङ्गलवार ३५.५२ अङ्कले घट्यो । त्यस्तै १८ गते बुधवार ७.१९ अङ्कले ओरालो लाग्यो । आजसम्म आइपुग्दा नेप्से परिसूचक १८.२६ अङ्कले ओरालो लागेको छ ।
बजेटमा धितो पत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितो पत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था मिलाइएको छ ।

वस्तु विनिमय बजार र यसका पूर्वाधार सञ्चालनमा ल्याउने तथा संस्थागत तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गर्ने कार्यक्रम बजेटमा समावेश छ ।
त्यस्तै उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई सञ्चालन अनुमति दिई सहजीकरण गर्ने कार्यक्रम बजेटमा उल्लेख छ ।
रु एक अर्ब वा सोभन्दा बढीको पुँजी वा रु पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीलाई धितो पत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुनुपर्ने व्यवस्थालाई बजेटले विशेष प्राथमिकता दिएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बिमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने, निक्षेप बिमाको विद्यमान सीमा रु तीन लाखबाट वृद्धि गरी रु पाँच लाख पुर्याइएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.२६ अङ्कले ओरालो लागेर दुई हजार ११२.४७ अङ्कमा ओर्लेको छ ।
त्यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८१ अङ्कले ओरालो लागेर ४१०.६६ मा ओर्लिएको छ । कूल २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर रु एक अर्ब १६ करोड १५ लाख १४ हजार १६९ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहको शेयर ०.०२ अङ्कले उकालो लागेको छ । त्यस्तै बैङ्किङ ११.१२, व्यापार ४६.७२, होटल तथा पर्यटन १३.४१, विकास बैङ्क १९.१९, जलविद्युत् १३.६२, वित्त ५.६२, निर्जीवन बिमा १३८.१६, उत्पादन ४१.३६, अन्य २४.४३, लघुवित्त २९.४२, जीवन बिमा १४६.६२ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा माउण्टेन हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड १२ लाख ५८ हजार ६९३ बराबरको कारोबार भयो । एनआइसी एशिया बैङ्क रु छ करोड ५४ लाख ६० हजार ८८९, नवील बैङ्क रु तीन करोड १८ लाख ५७ हजार २७२, हिमालयन डिस्टिलरी रु तीन करोड आठ लाख ६१ हजार ४८९ र शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ८८ लाख ५० हजार ५६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९७, माउण्टेन हाइड्रोपावर ४.२०, उपकार लघुवित्त ४.०४, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०१ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.३६ प्रतिशतले कमाए ।
त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स ६.४७, उन्नति सहकार्य लघुवित्त ४.८७, कर्पोरेट डेभलपमेन्ट बैङ्क ४.२३, प्रिमियर इन्स्योरेन्स ४.१८ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०६ प्रतिशतले ओरालो लागेको छ ।
https://ujyaalonepalnews.com/archives/21058


