Home Uncategorized नर्सरीबाट मनग्ये आम्दानी

नर्सरीबाट मनग्ये आम्दानी

गलेश्वर। पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाका एक कृषकले रु ४० लाखको लगानीमा डेढ रोपनी जग्गामा स्थापना गरेको नर्सरीमा ४० हजार बढी सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् ।

मङ्गला–४ बरङ्जाको आरकुलीका  रेशम बुढाथोकीले आफ्नै घरछेउमा  जग्गामा नर्सरी स्थापना गरी मनग्ये आम्दानीसमेत गर्दै आउनुभएको छ । 

उहाँका नर्सरीमा अहिले १८ महिनाका २५ हजार र ३२ महिनाका करिब १५ हजार स्थानीय बाँसखर्क जातका सुन्तलाका बिरुवा बिक्रीका लागि तयारी भएको उहाँले जानकारी दिनुभयो । नर्सरीमा उत्पादन गरिएका सुन्तलाका बिरुवाको परीक्षण (पिसिआर) पनि गरिएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट विज्ञको टोली ल्याई परीक्षण गर्दा बिरुवामा रोग नदेखिएको उहाँले बताउनुभयो ।

एक हजार ६३० मिटरको उचाइमा उत्पादन गरिएको बिरुवा भएकाले उत्पादन राम्रो दिने उहाँको भनाइ छ । जिल्ला तथा आसपासका कृषकलाई नर्सरीमा आई बिरुवा खरिद गरी व्यावसायिक सुन्तला खेती गर्न बुढाथोकीले अनुरोध गर्नुभएको छ । विसं २०६९ देखि व्यावसायिक कृषि पेशा अँगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तलासँगै एक हजार २०० ओखरका बिरुवा, चार हजार कागतीका बिरुवा, चार हजार टिमुरका बिरुवा र पाँच हजार डालेघाँसलगायतका बिरुवा तयारी अवस्थामा छन् ।

यसबाहेक ८४ किवीका बोटले अघिल्लो वर्षदेखि उत्पादन दिन सुरु गरेका छन । बरङ्जा नर्सरी तथा पशुपन्छी पालन फर्म दर्ता गरी व्यावसायिक कृषिमा पेसामा लागेका बुढाथोकीको नर्सरीमा हालसम्म करिब रु ४० लाख लगानी पुगको छ । गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र बेनीबाट प्राप्त रु पाँच लाख अनुदानले दुई वटा ग्रीन हाउस निर्माण गरेको कृषक बुढाथोकीले बताउनुभयो ।

यस्तै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट रु दुई लाख ५० हजार बराबरको कृषि सामग्री सहयोग प्राप्त भएको उहाँको भनाइ छ । तयारी भएका सुन्तलाको बिरुवाको बजारमा भने समस्या भएको छ । बुढाथोकीले नर्सरीबाट वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आउनुभएको छ । यसका अलवा उहाँले बाख्रा र माछा पनि पाल्दै आउनुभएको छ । बाख्रापालनबाट पनि राम्रो आम्दानी भइरहेको छ । कुषि व्यवसायमा उहाँलाई गौमती बुढाथोकीले पनि साथ दिनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/21098

Previous articleजडीबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग
Next articleभरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।