रक्सौलमा भारतको केन्द्रीय खाद्य प्रयोगशाला स्थापना

वीरगन्ज । वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा भारतको केन्द्रीय खाद्य प्रयोगशाला स्थापना भएको छ ।

प्रयोगशालाको भारतीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव पनि उपस्थिति हुनुहुन्थ्यो ।

प्रयोगशाला ‘भारतीय खाद्य सुरक्षा एवम् मानक प्राधिकरण’ (एफएसएसएआई) ले स्थापना गरेको हो । प्रयोगशाला स्थापनासँगै नेपालबाट हुने विभिन्न वस्तुको निकासीअघि भारतले गर्ने गुणस्तर परीक्षण सहज भएको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले बताउनुभयो । नेपाली निर्यातकर्ताले रक्सौलमा प्रयोगशाला स्थापनाको माग गर्दै आएका थिए ।

अब नेपालबाट भारत निकासी हुने प्रशोधित तेल, भटमासको अर्धप्रशोधित तेल, खाद्यान्न, छाला लगायत वस्तुको परीक्षण सहज हुने वीरगन्जका निर्यातकर्ता प्रदीप केडियाले बताउनुभयो ।

यसअघि यस्ता वस्तुको नमूना परीक्षणका लागि कोलकाता वा दिल्लीस्थित प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेकोमा अब सो बाध्यताको अन्त्य भएको केडियाले बताउनुभयो ।

एफएसएसएआईले यो प्रयोगशाला उच्च प्रविधि र पूर्वाधारयुक्त भएको बताएको छ । रक्सौलमा स्थापना भएको प्रयोगशालाले नेपालको खाद्यान्न र कृषिजन्य उत्पादनको निर्यातमा नमूना परीक्षणमा लाग्ने समयको बचत हुनेछ । यसले नेपाल र भारतबिचको द्विपक्षीय व्यापार अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/21272

Previous articleलैनचौरमा ३५ लाख लुटपाट गर्ने दुई पक्राउ
Next articleफर्पिङको जङ्गलमा दुई जना मृत फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।