जुम्लामा रोपाइको चटारो : मार्सीधान खेतीको क्षेत्र घट्दै

जुम्ला । जुम्लामा जेठ पहिलो सातादेखि मार्सीधान रोपाइको चटारो शुरु भएको छ । सिञ्जा, पानसय, असी र चौधबीस भेगका जुम्ली किसान मार्सीधान रोपाइमै व्यस्त देखिन्छन् । हाल जुम्लाको आठै तहको करिब ३० प्रतिशत मार्सीधान रोपाई सकिएको छ । यद्यपि जुम्लामा असार पहिलो साता सम्म जुम्लामा रोपाई चलिरहन्छ । 

जुम्लाको आर्थिक समृद्धीसंगै कर्णाली ब्राण्डका रुपमा बजारीकरण भइरहेको मार्सीधान खेतीको क्षेत्र भने घट्दै गएको कृषि विज्ञहरू बताउँछन् । कार्तिक पहिलो साता बेमौसमी वर्षासँगै आएको बाढीले तिला र तातोपानीको १८ हेक्टर मार्सीफाँटमा क्षति हुनु,मार्सी फाँटमा निर्माण प्रक्रिया बढ्दै जानु, मार्सी फल्ने खेतको विक्री बढ्नु र सिचाई सुविधाको अभावले जुम्लामा मार्सीधान खेतीको क्षेत्र घट्दै गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो,“मार्सीधान उत्पादन वृद्धि गर्ने र क्षेत्र विस्तार गर्ने हाम्रो लक्ष्य हो । तर प्राकृतिक प्रकोप र मार्सी उत्पादन हुने खेतहरू मनपरी खरिद विक्री हुनु र खेतमै घर निर्माण प्रक्रिया बढ्दै जाँदा मार्सी खेतीको क्षेत्र घटेको छ ।”

हाल जुम्लाको २८ सय हेक्टरमा धानखेती भइरहेको छ । जसमध्ये मार्सीधान १ हजार हेक्टर र उन्नत जातको चन्दननाथ–१, चन्दननाथ–२ र लेकाली धान १८ सय हेक्टरमा खेती भइरहेको छ । 

विगतको तुलनामा मार्सीधान उत्पादन  र क्षेत्र ह्वात्तै घटेपनि कतिले घटेको छ भन्ने एकिन तथ्याङ्क कुनै निकाय सँगै छैन । मार्सी उत्पादन हुने खेतमा पक्की घर ठडिएका छन् । बाढीले डुबानमा परेका मार्सीफाँट ज्युँका त्युँ छन् । मार्सीधान खेतीको क्षेत्र विस्तार गर्ने उत्पादन बढाउन लक्ष्य प्राप्तिका लागि प्रदेश र स्थानीय तहको ठोस नीति बन्न आवश्यक रहेको नागरिक अगुवा राज बहादुर महत बताउँछन् । 

बाढीले डुबानमा परेका खेतमा बालुवा भरिएका छन् । खेततिर हेर्दा मन भक्कानिएर आउँछ । 

तातोपानी २ का किसान दत्त बुढाले भन्नुभयो,“राहत पाउने आसामै ८ महिना बित्यो । अझै कतैबाट पाएनौ । खेतमा बालुवा भरिएको छ । कात्तिकमा भित्राउन लागेको धान बाढीले बगायो । बिउ राख्ने धान पनि छैन । किसानका समस्या प्रति सरोकारवाला गम्भीर देखिएनन् ।” 

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले किसानको राहतका लागि १९ लाख आवश्यक रहेकोमा गृहले ५ लाख मात्रै पठाएको बताइन् । बाढीले क्षति व्यहोरेका १२ सय किसानलाई राहत रकम अपुग भएकोले थप १४ लाख रकम प्रदेश हुँदै अर्थमा माग गरिएको र छिटै निकासा हुने आश्वासन भएको प्रजिअ प्रसाईँले जानकारी दिनुभयो । 

कृषि अनुसन्धान केन्द्र (नार्क)ले विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा १२ वर्षदेखि अनुसन्धान गरेको उन्नत जातको मार्सीको बिउ रोपिएको छ । उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ उन्नत जातको बिउ रोपिएको छ । 

https://ujyaalonepalnews.com/archives/21295

Previous article‘मास्टरको जागिर छाडेकोमा कुनै पछुतो छैन’
Next articleतपाईँको आम्दानी कति ? यस्तो छ करको दर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।