पुँजी बजार अध्ययनका लागि समिति गठन

काठमाडौँ । पुँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

‘पुँजी बजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैङ्कका  गभर्नर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर आजै मात्रै चार सदस्यीय सुझाव समिति गठन गरेका छौँ’ उहाँले भन्नुभयो । बुधवार बिहान मन्त्रालयमा भएको छलफलपछि धितोबोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैङ्क एक–एक प्रतिनिधि तथा धितोपत्र बोर्डको एक प्रतिनिधि सदस्य सचिव रहने गरी समिति बनाइएको हो । सो अध्ययन समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पुँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा राखिएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुँजी बजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक बर्ष ०७९/८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराउनुभयो । आगामी आवको बजेट वक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ नम्बर बुँदामा धितोपत्र सुधार, नियमन र सुपरिवेक्षणका विषयहरू उल्लेख छन् । 

धितोपत्रको दोस्रो बजारमा गैरआवासिय नेपालीलाई लगानी खुल्ला गर्न कानूनी व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने, एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कास गर्ने गरी सूचीकृत हुन लगाउनेलगायतको व्यवस्था बजेटमार्फत गरिएको छ ।

उहाँले पुँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो । उहाँले पुँजी बजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरूलाई निर्देशन पनि दिनुभयो । ‘पुँजी बजार सम्बन्धी ज्ञान र वित्तीय साक्षरता हुनुपर्‍यो । तालिम दिन जनशक्ति परिचालन गर्नुपर्‍यो’ उहाँले भन्नुभयो, ‘अहिले यो अपर्याप्त भएको छ । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पुँजी बजारका बारेमा बुझाउने कुरामा कमी भएको छ ।’

पुँजी बजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठुला लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने, नवीन प्रविधिको प्रयोग गरी सेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार सञ्चालन हुनुपर्नेलगायतका विषयमा उहाँले जोड दिनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/21340

Previous articleनिःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग
Next articleबुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।