काठमाडौँ । नेपाली धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो ३० औ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाएको छ ।
यसै सन्दर्भमा बुधवार काठमाडौँमा आयोजित समारोहमा अर्थमन्त्री जर्नादन शर्माले नियमनकारी निकायहरू जिम्मेवारीसहित स्वायत्त हुनु आवश्यक भएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले सबै निमनकारी निकायहरूलाई जबाफदेहिता सहितको स्वायत्तताको प्रयोग गर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री शर्माले धितोपत्र बजारमा छिटो र छोटो तरिकाले अत्याधुनिक प्रविधि भित्राउन नियमनकारी निकायहरूलाई आग्रह पनि गर्नुभयो ।
अर्थमन्त्री शर्माले धितोपत्र बजारमा स्वचालित कारोबार प्रणालीलाई विश्वसनीय बनाई सहज रुपमा कारोबार हुने वातावरण बनाउन पनि सम्वद्ध निकायहरू क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री शर्माले मौद्रिक नीतिका सम्बन्धमा आएका गुनासा र प्रश्नहरूको सम्बन्धमा पनि यथोचित सम्बोधन गरी पुँजी बजारको विकासमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री शर्माले धितोपत्र बजारका नियमनकारी निकायहरू बीच प्रभावकारी समन्वय हुनु आवश्यक छ भन्दै त्यस क्षेत्रमा आवश्यक प्रविधि र जनशक्तिको व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो ।
अर्थमन्त्री शर्माले बुक बिल्डिङ प्रविधिको प्रभावकारी कार्यान्वयन, सबै कम्पनीहरूलाई बजारमा प्रवेशको वातावरण निर्माण गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले पुँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै पुँजी बजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरूलाई निर्देशन पनि दिनुभयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्याहरूको समाधानका लागि नेपाल राष्ट्र बैङ्कसँगको छलफल गरी उचित निकास निकालिने प्रयास भइरहेको बताउनुभयो ।
बोर्डको कार्य प्रणालीमा सुधार गर्न तथा सेवा प्रवाहलाई सहज गराउन मेरिटवेश अप्रुभल प्रणाली लागू गरिएको अध्यक्ष हमालले बताउनुभयो ।
अध्यक्ष हमालले स्वचालित नियमन प्रणाली स्थापना र लागू गर्ने, प्राइभेट इक्विटी, र भेन्चर क्यापिटलको माध्यमबाट पुँजी परिचालन गर्ने तथा नियमनलाई प्रभावकारी बनाउन बोर्ड क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा कर्मचारी प्रतिनिधिहरूले पुँजी बजारको विकास तथा धितोपत्र बजारको विकासका लागि धितोपत्र बोर्डलाई साधन र स्रोत युक्त बनाउनु पर्ने, नियमनकारी निकायहरू बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बीस बर्षे सेवा अवधी पुरा गरेको बोर्डका कर्मचारीहरु, धितोपत्र बजारका विभिन्न विषयमा अनुसन्धान पत्र तयार पर्ने विद्यार्थीहरु तथा यस बर्षको धितोपत्र आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार गजेन्द्र बुढाथोकीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
https://ujyaalonepalnews.com/archives/21345


