फुकोट–कर्णालीको इआइए अन्तिम चरणमा

0
45

मान्म । अर्ध जलाशययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ । 

विद्युत् उत्पादन कम्पनीले तयार पारेको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । ४८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाले ईआइए स्वीकृति माग गरेको हो । 

सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र इआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको जलविद्युत आयोजनाका प्रमुख हीरामान वाइबाले बताउनुभयो । उहाँले भन्नुभयो, “अब लगानीको मोडालिटी टुङ्ग्याउन पाए निर्माणको काममै जान सक्छौँ ।”

आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको आयोजनाका प्रमुख वाइवाले बताउनुभयो । “आउँदो असार महिनामा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको छ”, उहाँले भन्नुभयो, “आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता ९पीपीए०का लागि पनि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ ।”

फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित क्षेत्र हुनेछन् । यस आयोजनाको मुख्य बाँध सान्नी त्रिवेणी गाउँपालिका–३ मा हुने जनाइएको छ । 

तिला कर्णालीद्वारा हाइड्रोपावर इन्जिनियरिङ अध्यापन
कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा हाइड्रोपावर इन्जिनियरिङ विषय अध्यापन हुने भएको छ । तिला कर्णाली बहुमुखी क्याम्पसका भौतिक संरचना निर्माण भए लगत्तै हाइड्रोपावर इन्जिनियरिङ विषय पढाइ हुने जनाइएको छ । 

तत्काल भौतिक संरचना निर्माणको थालनी भइसकेकाले संरचना निर्माण लगत्तै क्याम्पसमा हाइड्रोपावर इन्जिनियरिङ विषय क्षिक्षण गरिने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बताउनुभयो । 

“कालीकोट जिल्ला जलविद्युत्को सम्भावना रहेको स्थान हो” उहाँले भन्नुभयो, “तिला कर्णाली बहुमुखी क्याम्पसको भौतिक संरचना तयार हुने बित्तिकै हाइड्रोपावर इन्जिनियरिङ विषय पढाइ हुनेछ ।”

सिंहले कालिकोटजस्तो दुर्गम ठाउँमा हाइड्रो इन्जिनियरिङ पढाइका लागि सहज गराउन आफु लागिपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । क्याम्पसका प्रमुख रुद्ध प्रसाद सापकोटाले शिक्षा क्षेत्रको विकासका लागि क्याम्पसले महत्त्वपूर्ण योगदान दिएको दाबी गर्नुभयो । 

“हामीले दक्ष जनशक्ति उत्पादन गर्नका लागि महत्त्वपूर्ण योगदान दिएका छौँ” उहाँले भन्नुभयो, “सबैको सहयोग भएमा हामीले जिल्लामै नै अझ शिक्षामा नयाँ आयाम थप्न सक्छौँ ।”

उहाँले क्याम्पसमा नयाँ सङ्कायका विषय अध्यापन गराउन तयारी थालेकाले सरोकारवालाबाट सहयोगको अपेक्षा गर्नुभएको छ । रासस 

https://www.ujyaalonepalnews.com/archives/21406

Previous articleरु ५०० ले बढ्यो सुनको मूल्य
Next articleपृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध