कृषिमा ५० लाखको लगानी, वार्षिक १० लाख आम्दानी 

सुनसरी । नेपाल प्रहरीबाट राजीनामा दिएर कृषि कर्ममा लाग्नुभएका सुनसरीको दुहबी ७ निवासी पुनम कुमार सरदारले दुई वर्ष अघि ५० लाख रुपैयाँको लगानीमा कृषि फर्म सञ्चालन गर्नुभयो । 

श्रम र पसिना बगाउन विदेशीने युवाहरूलाई गतिलो जवाफ दिँदै सरदारले आफ्नै भूमिमा पछिल्लो समय कालिजको पालन सुरु गर्नुभएको छ । कालिज मासुको बजार राम्रो भएपछि सुनसरीको दुहबी र धरानमा यसको व्यावसायिक पालन सुरु भएको छ । 

सरदारले आफ्नै पुर्खौली घर सुनसरीको दुहबी ७ अवस्थित भलुवा तीन विघा जग्गामा विभिन्न कृषिका कार्य सुरु गर्नुभएको दोस्रो वर्षबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ ।

सोही क्रममा सुनसरीको दुहबी नगरपालिका–७ का पुनम कुमार सरदारले अहिले आफ्नै गाउँमा व्यावसायिक कालिज पालन गर्नुभयो । सरकारी जागिर नेपाल प्रहरीमा २४ वर्षसम्म कार्यरत रही बढुवाको क्रममा सई पदमा केही समय शान्ति मिसनमा सुडान बसेर आउनुभएका सरदारले त्यहाँ हेरेको र धरानका एकजना साथीले कालिज पालेको देखेर आफैले पनि सुरु गरेको बताउनुभयो । उहाँले ५० लाख रुपियाँको लगानीमा फार्मफोर्ड कृषि फर्म प्रालि मार्फत कालिजसँगै माछा, बाख्रा, खसी, हाँस, बटई, परेवा, लोकल कुखुरा र कर्टी पाल्नुभएको छ ।

सरदारले तीन विघा जग्गामा घेराबन्दी गरेर कालिज पालन गर्दै आउनुभएको छ । दुई वर्षअघि १०० कालिजका चल्लाबाट व्यवसाय सुरु गरेकोमा हाल ७०० सय कालिज फर्ममा रहेको उहाँले बताउनुभयो । 

सरदारको फर्ममा फ्रान्स र डेनमार्क जातको कालिज छन् । कालिजको चल्ला राखेको ५ महिनापछि बेच्न लायकको हुन्छ । अहिले सरदारको फर्मबाट कालिज बिक्री गर्न सुरु भएको छ । एउटा कालिज औसत दुई हजार पाँच सय देखी तीन हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

उहाँको फर्मबाट उत्पादित कालिजको माग धरान, विराटनगर लगायत मुख्य सहरहरूमा पनि हुने गरेको छ । कालिज बिक्री गर्न योग्य बनाउन धेरै समय लाग्ने र उत्पादन पनि कम भएको मूल्य महँगो पर्ने गरेको सरदारको भनाई छ ।

विदेशमा पसिना बगाउनुको साटो स्वदेशमै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने वहाँले बताउनुभयो । सरदारको फर्ममा चाँडै ‘ह्याचरी’ पनि सुरु गर्ने तयारी भइरहेको बताइएको छ । फर्ममा तयार भएका भाले कालिज मासुको रुपमा बिक्री गरिने र पोथी कालिजबाट अण्डा उत्पादन गरी चल्ला उत्पादन गर्दै आएको बताउनुभयो । 

सरदारले कृषि र पर्यटनको सम्भावना रहेकाले आफू कृषि फर्ममा लागेको बताउनुभयो । हाल फर्ममा ५० वटा खसी र बाख्रा, छ कट्ठामा माछा पोखरी,  रातो केरा, कागती खेती, टर्की  सहित रहेको र चार जनाले रोजगार पनि पाएका छन् । केही दिनपछि कृषि पर्यटन अवधारणा स्वरूप होमस्टे पनि सञ्चालनमा ल्याउने सरदारले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/21486

Previous articleहदम्याद हटाउने कि बढाउने ?
Next articleलेखनाथ सबस्टेसनबाट  पोखरासम्म बिजुलीको तार भूमिगत गरिने 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।