‘किसानलाई मल उपलब्ध गराउने जिम्मा प्रदेश सरकारलाई आग्रह’ 

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्ने हो भने यसको जिम्मा प्रदेश सरकारलाई दिन आग्रह गर्नुभएको छ । 

महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशको समृद्धिको मुख्य आधार कृषि भएको र समयमा मल खाद, बीउबिजन किसानलाई उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभयो । 

यदि सङ्घीय सरकारले समयमा मल खाद, बीउ बिजन उपलब्ध गराउन नसक्ने नै हो भने अब यसको आपूर्तिको जिम्मा प्रदेश सरकारलाई दिनुपर्छ भन्नुहुँदै उहाँले  प्रदेश सरकार यसको जिम्मा लिन तयार  छ । 

मुख्यमन्त्री राउतले प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता रहेको बताउनुभयो । 

उहाँले समयमा मल खाद, बीउबीजन र सिँचाइको सुविधा पुर्‍याउन सके किसानको जीवनस्तरमा सुधार र मुलुकको आर्थिक उन्नतिमा टेवा पुग्ने बताउनुभयो । 

मुख्यमन्त्री राउतले मल खाद समयमा नपाएर किसानले खेतीका बेला बर्सेनि समस्यामा पर्ने गरेको बताउनुभयो । 

उहाँले कहिल्यै समयमा मल खादको प्रबन्ध गर्न नसक्ने र त्यो अभिभारा विकेन्द्रित पनि नगर्ने सङ्घीय सरकारको अड्डीले कृषि सामग्रीको आवश्यकता समयमा परिपूर्ति हुन नसकेको दाबी गर्नुभयो । 

उहाँले मुलुकमै मल उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने कुरामा जोड दिँदै मधेस सरकारले प्रदेशभित्र कृषिजन्य उद्योग खोल्न चाहनेलाई २० वर्षसम्म कर नलिने र जग्गा लिजमा उपलब्ध गराउने कानुन नै बनाएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/21518

Previous articleश्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाण
Next articleतीन दिन भित्रमा ‘ब्रुमर’ सञ्चालनमा ल्याइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।