वीरगञ्ज । रेलमार्ग हुँदै भारतको कोलकाता बन्दरगाहबाट २२ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल वीरगञ्ज हुँदै नेपाल भित्रिने क्रम सुरु भएको छ ।

चौतर्फी मलको अभाव भइरहेको समयमा साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याउन लागेको १५ अर्ब मूल्य बराबरको रासायनिक मलमध्ये २२ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल भित्रिने क्रम सुरु भएको साल्ट ट्रेडिङ कर्पोरेसनको मधेश प्रदेश कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेले जानकारी दिनुभयो ।
गत जेठ २० गतेदेखि रक्सौल रेल्वे स्टेसन हुँदै डीएपी मल साल्ट ट्रेडिङ कर्पोरेसनको वीरगन्जस्थित गोदाममा आउन थालेको लामिछानेले बताउनुभयो ।
हाल भित्रिएको डिएपी मलमध्ये ५ हजार मेट्रिक टन वीरगन्जमा राखिएको र २ हजार ५ सय मेट्रिक टन विराटनगर पठाइएको लामिछानेले जानकारी दिनुभयो ।

यता युरिया मलको आपूर्तिकर्ता स्विस सिंगापुर कम्पनीले मल कोलकाता बन्दरगाहसम्म ल्याइसकेको र कोलकातामा युरिया मललाई प्याकिङ लगायतका अन्य काम सम्पन्न गरी असार १५ भन्दा अघि नै नेपाल ल्याइसक्ने योजनामा साल्ट ट्रेडिङ जुटेको कार्यालयका प्रमुख अमोज लामिछानेले बताउनुभयो ।
ग्लोबल टेन्डरबाट खरिद गरिएको २२ हजार मेट्रिक टन युरिया मल मध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ५ देखि ७ हजार मेट्रिक टनसम्म पाउने लामिछानेले जानकारी दिनुभयो ।
वीरगन्जस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालयबाट मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा मल वितरण हुँदै आएको छ भने बाँकी मल विराटनगर र भैरहवा कार्यालयमा पठाइने लामिछानेले बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/21578


