
सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेड क्वाटर अहिले चिउरी प्रवर्धनमा जुटेको छ ।
घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षारोपण नगरी जथाभाबी चिउरीका रुख काटेर मासिन थालेपछि सेना बहुउपयोगी चिउरी प्रवर्द्धनमा जुटेको हो ।

चिउरी बहुउपयोगी बिरुवा भए पनि संरक्षणतर्फ कसैले ध्यान नदिँदा लोप हुन थालेपछि सेनाले पश्चिम नेपालका पहाडी क्षेत्रका उपयुक्त ठाउँहरूमा चिउरी प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ ।
सेनाले चालु आर्थिक वर्षको अन्त्यसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लामा दुई हजार ६ सय २० वटा बिरुवा वृक्षारोपण गर्ने लक्ष्य लिएको नयाँ सवुज गण सुर्खेतका प्रमुख सेनानी रूपक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी दैलेखमा १ हजार ५ सय र सबैभन्दा कम १० वटा चिउरीका बिरुवा बाजुरामा रोपिनेछ ।
“हाम्रा अग्रज पुर्खाहरूको कठोर मेहनतले रोपी हुर्काई संरक्षण गरेका चिउरी जस्ता बहुउपयोगी सम्पदा र वंशाणु स्रोतको दिगो संरक्षणमा जुट्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘बर्सेनि विभिन्न बिरुवाको वृक्षारोपण गरे पनि बहुउपयोगी चिउरीको वृक्षारोपण नगर्दा लोप हुँदै गएकाले प्रवद्र्धन तथा संरक्षण आवश्यक देखियो ।”

उहाँले जलवायु परिवर्तनले पारेको प्रभावलाई समेत रोकथाम तथा नियन्त्रण गर्न चिउरी प्रवर्धन तथा संरक्षण गर्न जरुरी रहेको औँल्याउनुभयो ।
उहाँका अनुसार हरित विकासको अवधारणा र जलवायु उत्थानशील विकासलाई टेवा पु¥याउने गरी हरित रोजगारी सिर्जना गर्ने कार्यक्रम समेत ल्याउन आवश्यक देखिन्छ । उहाँले चिउरीलाई लघु उद्यमको रुपमा विकास गरी खेर गइरहेको स्रोत–साधनबाट आयआर्जनको समेत सम्भावना रहेको जनाउनुभयो ।
यसैबीच सेनाको नयाँ सवुज गण सुर्खेतले बिहीबार वीरेन्द्रनगरस्थित कपासे ब्यारेकमा ४ सय चिउरीका बिरुवा वृक्षारोपण गरेको छ ।

वृक्षारोपण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत मुनबहादुर रावत, प्रमुख सेनानी रूपक थापा, रक्तकाली गणका गणगति विमल डाँगी, सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टलगायतको सहभागिता रहेको थियो ।
सुर्खेतका प्रजिअ रिजालले युगौँदेखि मानव जीवनसँग प्रत्यक्ष जोडिएको चिउरी जस्तो बहुउपयोगी बिरुवा पछिल्लो समय जनचेतनाको अभावमा मासिने क्रम बढेकाले यसको प्रवद्र्धन तथा संरक्षण अपरिहार्य रहेको औँल्याउनुभयो ।
यद्यपि ! पछिल्लो समय सामुदायिक वनमा रहेका चिउरीका रुख काट्न प्रतिबन्ध गरिए पनि अन्य काठ भन्दा चिउरीको काठ बलियो हुने भएकाले लुकिछिपी रुख काटी घर निर्माणमा प्रयोग हुँदै आएको छ ।
चिउरी किन बहुउपयोगी ?
चिउरीबाट घ्यू, मैनबत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउन समेत प्रयोग गरिन्छ । चिउरीको पाटबाट टपरी, घाँस, घिउ निकाल्दा बाँकी रहेको पिना अत्यन्तै उपयोगी रुपमा प्रयोग गर्न सकिन्छ ।
त्यस्तै, चिउरीको फल मानिसका लागि खानाको रुपमा समेत प्रयोग गरिँदै आएको छ । एक पाथी अर्थात् चार किलो बीउबाट झण्डै दुई किलो घ्यू उत्पादन हुन्छ । एउटा बोटबाट औसत ५० किलो बीउ उत्पादन हुन्छ । यो घ्यूको सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने अनुसन्धानात्मक लेखहरूमा लेखिएका छन् ।
साबुन, शरीरमा लगाइने लोसन, कपाल मुलायम बनाउने वस्तु आदि उत्पादनमा चिउरीको घ्यू प्रयोग हुन्छ । चकलेट, बिस्कुट आदि उत्पादनमा पनि यो घ्यू प्रयोग हुन्छ । त्यसैगरी चिउरीको बीउ पेलेर निस्कने पिना महत्त्वपूर्ण कम्पोस्ट मल मानिन्छ ।

यसैगरी पिनाको पीठोलाई तरकारी बालीमा विषादीको रुपमा पनि प्रयोग गरिन्छ । चिउरी रैथाने वनस्पति हो । चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को भने सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका पहाडमा भएको देखिन्छ ।
चिउरीबाट अहिले वाइन, जाम र महदेखि प्राङ्गारिक मल तथा विषादीसम्मको उत्पादन सुरु भए पनि संरक्षण नहुँदा लोप हुने अवस्थामा छ । चिउरीको पात र काठबाट टिकाउ किसिमको दुना टपरी तथा फर्निचर बन्छ ।
बाँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको बिजुला (कोया) बाट हुन्छ । समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा पाइने यो वनस्पतिको वैज्ञानिक नाम ‘डिप्लोकनेमा ब्युटीरेसी’ हो । चिउरी मानिसका लागि मात्र उपयोगी वनस्पति होइन ।
https://ujyaalonepalnews.com/archives/21660


