रत्ननगर- पूर्वी चितवनको रतननगर ३ स्थित शहीद स्मृती बहुमुखी क्याम्पसको जग्गा भूमाफियाको कब्जामा परेको छ ।
क्याम्पसले विगत ४० बर्ष देखि भोगचलन गर्दै आएको जग्गा विवादमा तानिएको हो।
दुर्गादेवी श्रेष्ठले क्याम्पसलाई दानको रुपमा दिने मौखिक सहमती भएको र अहिले सम्म नामसारी हुन नसकेको ३ कठ्ठा १५ धुर जग्गा विवादमा थियो । २०३७ सालमा क्याम्पसले श्रेष्ठसंग ४ बिघा जग्गा खरिद गरेको थियो । संगै जोडिएको पश्चिम तर्फको कित्ता नं ३६९ को जग्गा मोही छुटाएपछि दान स्वरुप क्पाम्पसको नाममा नामसारी गरिदिने श्रेष्ठले वचन दिएकी थिइन ।
श्रेष्ठले क्याम्पस हाता भित्र रहेको तीन कठ्ठा १५ धुर जग्गा भोलानाथ नेपालकी श्रीमती अर्पना नेपाल र कमलचन्द्र खनालकी श्रीमती सुमित्रा खनाललाई विक्री गरी नामसारी समेत गरिदिएकी छन् । क्याम्पस सञ्चालक समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी ४० वर्ष देखि भोगचलन गर्दै आएको क्याम्पस हाता भित्रको जग्गा भूमाफियाले चलखेल गरी कब्जा गरेको आरोप लगाएको हो ।
४० वर्ष देखि भोगचलन गर्दै आएको जग्गा भोगचलन गर्नेकै अधिकार हुने व्यवस्थालाई आधार मानेर जग्गा फिर्ता हुनुपर्ने माग क्याम्पसको छ । अर्पना नेपालले जग्गाको लालपूर्जा आफुसंग रहेको भन्दै जिल्ला अदालतमा निशेधाज्ञा जारी गरी पाउ भनी उजुरी दिएकी थिइन । जिल्ला अदालतले बैशाख ६ गते नेपाल र खनालकै पक्षमा फैसला गरेपछि क्याम्पस प्रशासन न्याय खोज्दै मिडियामा आएको हो ।
जिल्ला अदालत निषशेधाज्ञालाई निरन्तरता दिँदै चित्त नबुझेमा उच्च अदालतमा पुनरावेदन गर्नु भनि फैसला गरेको थियो । सो मुद्धा अहिले पुनरावेदन अदालतमा विचराधिन अवस्थामा रहेको छ । अदालतको फैसला पछि नेपाल र खनाल पक्षले क्याम्पसले लगाएको तारबार भत्काएर जग्गा कब्जा गर्ने प्रयास गरेको सञ्चालक समितिका अध्यक्ष रामबाबु घिमिरेले बताए । भूमाफियाले जग्गा कब्जा गर्ने नियतका साथ सो जग्गा नामसारी भएको देखिन्छ उनले भने नत्र क्याम्पसलाई जानकारी नदिइ कसरी खरिद विक्री हुन्छ ?
जग्गा विवादमा तानिएपछि जेठ १६ गते सम्पन्न क्याम्पस सभाले क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी संयोजक रहेको जंग्गा संरक्षण तथा विवाद सामधान समिति बनाएको छ । कानुनी प्रक्रियाकै टेकेर जग्गा क्याम्पसको पक्षमा ल्याउने संयोजक अधिकारीले बताए । डर त्रास देखाएर जग्गा कब्जा गर्ने जमाना गए उनले भने यो सार्वजनिक सम्पत्ती हो,कसैले धम्की दिएर खान पाउदैन ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष इश्वरीप्रसाद अर्यालले ४० वर्ष देखि क्याम्पसले भोगचलन गर्दै आएको जग्गा भूमाफियाको कब्जामा परेको बताए । यो साझा सम्पती हो उनले भने यो कुनै पनि हालतमा फिर्ता हुनुपर्छ । ३ कठ्ठा १५ धुर मध्ये नेपालको नाममा ३७ धुर र खनालको नाममा ३८ धुर पास भएको छ । क्याम्पस प्रमुख डा.धर्मदत्त तिवारीले सो जग्गाका विषयमा क्याम्पसले हकदावी गर्ने पर्याप्त प्रमाण रहेको बताए । कार्यक्रममा विभिन्न राजनिति दलका प्रतिनिधि, विद्यार्थीहरुले जग्गा क्याम्पसको नाममा विना शर्त फिर्ता हुनुपर्नेमा जोड दिएका थिए ।

https://ujyaalonepalnews.com/archives/21698


