‘कोभिड-१९ ले कृषिमा लाग्न बाध्य बनायो’ 

स्याङ्जा । तत्कालीन कालीगण्डकी जल यातायात समितिका अध्यक्ष चन्द्रबहादुर राना चित्रले कागती खेतीसँगै फुल खेती समेत गर्नुभएको छ । 

मौला कालिका कृषि तथा पशुपक्षी फर्ममार्फत उहाँले कागती खेती र फुल खेती गर्नुभएको हो । 

गल्याङ नगरपालिका वडा नं. ३ का रानाले लहलह धान फल्ने खेतमा कागती खेती गर्नुभएको छ । अन्नबालीमा बाँदर आतङ्क तथा जङ्गली जनावरले हैरान पारेपछि रानाले वैकल्पिक खेतीको रुपमा कागती खेती रोज्नुभएको हो । 

उहाँ कृषि खेतीमा लाग्नुभएको पनि तीन वर्ष पुग्यो । २०७७ को जेठबाट फर्म दर्ता गरी ८ रोपनी खेतमा ढाई सय कागती र ५० अमिलो जातको भब्बु लगाउनुभएका रानालाई कोभिड–१९ ले कृषिमा लाग्न बाध्य बनाएको हो । 

४ वर्ष कालीगण्डकी आयोजनामा काम गरेपछि कालीगण्डकीकै मिर्मिमा घर समेत बनाउनुभएका रानालाई खोलको ढुङ्गा बटुल्नेदेखि होटलमा भाँडा माझ्ने सम्मको अनुभव छ । 

कालीगण्डकी आयोजनामा काम गरिसकेपछि स्टिमर मर्मत तथा सञ्चालन, ट्याक्सी चालक हुँदै कालीगण्डकी जल यातायातको अध्यक्ष समेत हुनुभयो । 

कोभिड–१९ सुरु भएपछि देश ठप्प भयो । लामो समयको लकडाउनका कारण उहाँले सञ्चालन गर्दै आउनुभएको होटल पनि बन्द भए कालीगण्डकीमा स्टिमर समेत चल्न सकेन । त्यसो त अझै पनि उहाँको परिवारले मिर्मिमा होटल समेत सञ्चालन गर्नुहुन्छ । 

गल्याङ ३ मा पुर्ख्यौली घर भएका रानालाई कोभिड–१९ को लकडाउनले गर्दा पुख्यौँली घर खेतलाई सिँगार्ने मौका मिल्यो । मकै धान खेती गरे पनि वन्यजन्तुको आतङ्कका कारण कागती खेती उपयुक्त हुने सोचका साथ कागती खेतीमा लाग्नुभएका रानाको अहिले डेढ सय कागतीले फल दिएका छन् भने बाँकीले फल दिने तयारीमा छन् । कागती सानो हुँदा कागतीकै बीचमा फुल खेती समेत गर्नुभएका रानाले अहिले  भने कागती ठुलो भएपछि गल्याङ ५ मा २० रोपनी जग्गा भाडामा लिएर फुल खेती गर्नुभएको छ । 

गत वर्षको फाल्गुनबाट फुल खेती सुरु गर्नुभएका रानालाई फुलले भने त्यति सन्तोष दिएन । फुल्न तयार रहेका फुललाई वैशाखमा परेको हावाहुरी र असिनाका कारण समस्या पर्‍यो । सयपत्री, मखमली र सूर्यमुखी गरी ३ हजार बेर्ना लगाउनुभएका रानाको बेमौसमी फुलको बजारीकरण हुन सकेन । वैशाखमा फुल्ने फुल जेठमा सरेपछि फुलले बजार पाएन । जेठमा विवाह व्रतबन्ध तथा अन्य शुभ कार्य कम हुने भएपछि उहाँको फुल बारीमै ओइलिए । अहिले असारमा समेत उहाँको ४ रोपनीमा थाईल्याण्ड, टेनिस बल, कलकत्तिया जातका सयपत्री फुलिरहेका छन् । तर बजार भने पाउन गाह्रो छ । रानाले भन्नुभयो, “पहिलो चरणमा निस्केका फुल त्यसै खेर गए । अहिले मुस्किलले दैनिक दुईचार किलो बिक्री भइरहेको छ ।” कामको सिजन सुरु भएको र गल्याङ सानो बजार भएकाले पनि फुल खपत कम रहेको उहाँको भनाई छ । नेकपा माओवादीका नगर अध्यक्ष समेत रहनुभएका रानाले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने बताउनुहुन्छ । राजनीतिलाई पेशा ठान्दा मुलुकमा भ्रष्टाचार र बेतिथि बढेकाले हरेक राजनीतिज्ञहरूले कुनै न कुनै पेशा व्यवसाय गरी संर्घषका साथ लाग्नुपर्ने उहाँको धारणा छ । 

https://ujyaalonepalnews.com/archives/21724

Previous articleधुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी
Next articleपर्साका पालिकाहरू परिषद्को तयारीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।