दीर्घकालीन योजना एवं भू उपयोग नीति बनाउन जोड

0
31

भक्तपुर । चाँगुनारायण नगरपालिका भित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गर्ने विज्ञहरूले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भू उपयोग नीति बनाउन आग्रह गरेका छन् । विज्ञहरूले दीर्घकालीन योजना एवं भू उपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म सङ्कटमा परेको भन्दै यस्ता नीति बनाउन आग्रह गरेका हुन् ।

नगर प्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा संसद् सचिवालयका सचिव सुदर्शन खड्काले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने नाममा चाँगुको डाँडो भासेर अवैध बालुवा माटो बिक्री गरेको भन्दै यसअघि उत्तरदायी स्थानीय सरकार नभएको महसुस भएको बताउनु भयो ।

प्रदूषण फैलाउने इँटा भट्टालाई तत्काल हटाउनु पर्ने भन्दै उहाँले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणमा बालुवा र माटोको व्यापक दोहन भएको भन्दै सार्वजनिक यातायातका साधनको सहज पहुँच चाँगुनारायणका अधिकांश क्षेत्रमा नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको औँल्याउनु भयो ।

नेपाल सरकारका पूर्व सचिव वामनप्रसाद न्यौपानेले उपत्यकाका काठ क्षेत्रको विकासमा सरकारले दीर्घकालीन सोच नराख्दा राजधानी उपत्यकाका काँठ क्षेत्र अहिले पनि बिकट जस्तै सास्ती खेप्नु परेको भन्दै यसलाई अब स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने औँल्याउनु भयो ।

उहाँले गैरकानूनी जग्गा प्लटिङ् रोकेर कृषि योग्य जमिनको संरक्षण गर्नु पर्ने, नगरपालिकाले दीर्घकालीन योजना र भू उपयोग रणनीति तत्काल ल्याउनु पर्ने बताउनु भयो । नेपाल सरकारका सहसचिव धु्र्ब गैँडाले दिगो विकास र सुशासनका केन्द्रीय भएर नगरपालिका अगाडि जानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार विकास थापाले नगरपालिका पारदर्शी र सूचनामैत्री हुनु पर्ने भन्दै विगत ५ वर्षमा नगरपालिकाभित्र भएको विकृति चिर्न नयाँ नगरप्रमुखले श्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो ।

विज्ञ नेत्रप्रसाद न्यौपानेले नयाँ पाठ्यक्रम निर्माण गर्दै नयाँ समय र प्रविधि अनुरूप शिक्षालाई ढाल्दै लैजानु पर्ने आवश्यकता औँल्याउनु भयो ।

सो अवसरमा साहित्यका हरिहर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय महामन्त्री एवं भक्तपुर सभापति मनोज थापा, प्राध्यापक शिव मुनंकर्मी, कृष्णप्रसाद दुवाल लगायतले नगरपालिकाको भ्रष्टाचार रोक्नु पर्ने, बिरोध गर्नेहरूको आवाज सुन्नु पर्ने, विकासलाई आजका लागि नभई ५० वर्ष पछाडिलाई सोचेर योजना बनाउनु पुर्नेलगायतका सुझाव दिनु भयो ।

कार्यक्रमको संयोजन गर्नुभएका पत्रकार सुन्दर खनालले नागरिक समाजका अगुवाको सल्लाह नगरपालिकाको आगामी नीति तथा कार्यक्रमका लागि मार्गदर्शक बन्न सक्ने भन्दै नगरप्रमुखसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

सुझाव सुनिसकेपछि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने लक्ष्यका साथ जनअपेक्षा र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम तय गर्ने क्रममा कार्यक्रमबाट आएको सुझावलाई आत्मासात गर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०७९/०८० का लागि जनअपेक्षित नीति, कार्यक्रम तथा बजेट बनाउने उद्देश्यले विभिन्न कोणबाट छलफल र सुझाव सङ्कलन भइरहेको बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाँई समिति श्रोत र साधनबाट धेरै उपलब्धि हासिल गर्ने गरी नगरपालिकाले योजना तर्जुमा गर्ने बताउनु भयो । उहाँले आउँदो आ.ब.का लागि नगरपालिकाले आन्तरिकतर्फ करिब रु ५२ करोडको बजेटको सिलिङ तयार पारेको बताउनु भयो ।

https://www.ujyaalonepalnews.com/archives/21772

Previous articleअर्थमन्त्री र विश्व बैङ्कका प्रबन्ध निर्देशकबीच भेट
Next article१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क