तरकारी खेतीबाट वार्षिक ९ लाख आम्दानी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका ३ दमार गाउँका थमन गिरीले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ ।

१० वर्ष मलेसियामा बिताउनुभएका गिरी अहिले स्वदेशमै वार्षिक ९ लाखसम्म आम्दानी गरिरहनुभएको छ ।

उहाँले आफ्नै २० रोपनी जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहनुभएको छ । २० रोपनीमा १९ वटा फलामका र १७ वटा काठका प्लास्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती गरिएको छ ।

बाँकी ५ रोपनीमा खुल्ला खेती गरिरहेको उहाँको भनाई छ । वर्षातको समयमा तराई टमाटरको अत्यधिक माग हुने भएकाले अधिकांश जमिनमा टमाटर लगाइएको छ । बाँकी क्षेत्रमा बन्दागोपी र भिडे खुर्सानी ।

उहाँले भन्नुभयो ‘वर्षाको समयमा तराईमा डुबान पर्ने भएकाले टमाटरको माग धेरै हुने गरेको छ । त्यसैले मैँले धेरै जमिनमा टमाटर लगाएको छु ।’

यो वर्ष तरकारीले पनि राम्रो मूल्य पाएको उनको भनाई छ । हाट बजारबाट टमाटर र बन्दा प्रतिकिलो ६० देखि ६५ र भिडे खुर्सानी ७० देखि ७५ सम्म बिक्री भइरहेको उहाँको भनाई छ ।

विगतमा वार्षिक ९ लाखसम्म आम्दानी गर्दै आइरहनुभएका गिरीले यो वर्ष भने वार्षिक ३० लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको बताउनुभयो । गत वर्षतिर थोरै क्षेत्रफलमा तरकारी खेती गरेको बताउँदै गिरीले यो वर्ष २० रोपनीमा तरकारी खेती गरेकाले ३० लाखसम्म आम्दानी हुने अनुमान गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/21781

Previous articleभद्रकाली युवा क्लबको बृहत रक्तदान कार्यक्रम सम्पन्न
Next articleएक खर्ब ४० अर्ब १६ करोड मात्रै पुँजीगत खर्च
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।