
बीरगंज । मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सार आइसिपीबाट चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा ७ खर्ब १८ अर्ब बराबरको आयात निर्यात व्यापार भएको छ ।
नेपालको सबैभन्दा बढी सामान आयात तथा निर्यात हुने प्रमुख नाकाको रुपमा रहेको आइसिपी भन्सारबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ खर्ब ४१ अर्बको माल बस्तु आयात भएको छ भने सो अवधिमा वीरगंज नाकाबाट ७७ अर्ब बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।
आयात र निर्यात व्यापारको तुलना गर्दा वीरगंज नाकाबाट मात्रै ५ खर्ब ६५ अर्ब रुपैयाँको व्यापार घाटा देखिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताउनुभयो ।
गत आर्थिक बर्ष २०७७÷०७८ मा बीरगंज नाकाबाट ४ खर्ब ५६ अर्बको माल सामान आयात भएको थियो भने ४४ अर्ब मूल्य बराबरको उत्पादन बीरगंज आईसिपी भन्सार नाका हुँदै निर्यात भएको थियो ।
वीरगञ्ज भन्सारबाट यो अवधिमा इन्धन, औद्योगिक कच्चा पदार्थ, कपडा र सवारीसाधनको आयातमा वृद्धि भएको छ भने निर्याततर्फ प्रशोधित खाने तेल, डाबरको जुस, कपडा, धागो, पिना, जुत्ता, दन्तमञ्जन, गलैँचा, कार्पेट, छालालगायत वस्तु निर्यात भएको छ ।
बीरगंज नाकाबाट ११ महिनामा छिमेकी मुलुक भारततर्फ ७२ अर्ब मूल्य बराबरको माल बस्तु निर्यात भएको छ भने भारतबाट सो अवधिमा ४ खर्ब ४१ अर्ब रुपैयाँको मालवस्तु आयात भएको छ ।
https://ujyaalonepalnews.com/archives/21912


