सर्वसम्मतिले तातोपानी गाउँपालिकाको बजेट पारित

जुम्ला । जुम्लाका आठै वटा स्थानीय तहमध्ये पहिलो तातोपानी गाउँपालिकाको बजेट पारित भएको छ । आइतबार बसेको पालिकाको ११ औँ गाउँ सभाबाट सर्वसम्मतिले आगामी आव २०७९÷८० को बजेट पारित भएको हो । नीति तथा कार्यक्रम असार १० गतैकै दिन पारित भइसकेको थियो । 

१ देखी ८ नम्बर वडाको बजेट माथि दफावार छलफल तथा गाउँसभा सदस्यको टिप्पणी सहित सभाध्यक्ष नन्दप्रसाद चौलागाईको सम्बोधनपछि ११ औँ गाउँ सभाबाट बजेट पारित भएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो । 

उहाँका अनुसार आगामी आवका लागि विनियोजित ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँ बराबरको बजेट पारित भएको हो । जसमा जनतासँग अध्यक्ष कार्यक्रममा ८५ लाख र जनतासँग उपाध्यक्ष कार्यक्रममा ८० लाख विनियोजन भएको छ । भने वडा नंं १ देखि ६ सम्म ८० लाखका दरले बजेट छुटाइएको छ । 

साथै भौगोलिक हिसाबले विकट तातोपानीको भेरीखोला क्षेत्र वडा नंं ७ मा ९५ लाख र ८ मा ९० लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो । गाउँबस्ती स्तरबाट माग भई आएका योजनालाई वडाध्यक्षले प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् ।  

वडागत रुपमा आवश्यकतामुखी बजेट विनियोजन तथा नीति र कार्यक्रम ल्याएकोले जिल्लामै पहिलो बजेट र नीति पारित भएको अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार सबै जनप्रतिनिधिको सल्लाहमा शिक्षा,स्वास्थ्य र सडकमा बजेटले प्राथमिकता दिएको छ । भने असार १० गतेकै दिन नीति तथा कार्यक्रम पारित भएको थियो । १० गते प्रस्तुत बजेट दुईको अध्याय र छलफलपछि आइतबार ११ औ गाउँ सभाबाट बजेट पारित भएको उपाध्यक्ष रेवती रावलले बताउनुभयो  । 

उपाध्यक्ष रेवती रावलले प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार तातोपानीले समग्रमा  सडक तर्फ १ करोड ८२ लाख,५० हजार, शिक्षा तर्फ १ करोड ७३ लाख ५० हजार, स्वास्थ्यमा १ करोड १४ लाख ५० हजार, कृषिमा ८८ लाख बजेट विनियोजन गरिएको छ । 

त्यस्तै, खानेपानी तथा सरसफाईमा १ करोड ६६ लाख ७५ हजार, नदी नियन्त्रणमा ५५ लाख, खेलकुद, पर्यटन तथा सांस्कृतिक संरक्षणका लागि ८६ करोड २५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा ४५ लाख, न्याय र कानुनमा ६ लाख, सूचना प्रविधिमा २७ लाख विनियोजन भएको छ । 

साथै, सिचाई तर्फ १९ लाख, पशु सेवा तर्फ १५ लाख, महिला तथा बालबालिका तर्फ १० लाख, उद्योग उद्यमशीलतामा ३९ लाख ५० हजार, सहकारीतर्फ ८ लाख, लक्षित वर्गको हितका लागि ५२ लाख, बहुक्षेत्रिय पोषण तर्फ ८ लाख, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता तर्फ १० लाख बजेट छुटाइएको छ । 

यसरी समग्रमा विभिन्न शीर्षकमा गरी आगामी आवका लागि ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँ बजेट छुटाइएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो । उहाँका अनुसार आगामी आवबाट लागु हुने गरी खादै आएको तलबमा २ हजार वृद्धि गरिएको छ । 

उहाँले भन्नुभयो,“बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आगामी आवमा समयमै योजना सम्झौता देखि निर्माण प्रक्रिया अघि बढाइने छ । भने, डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने,अस्पताल निर्माण गर्ने, झिकाऊ, सिकाऊ, टिकाउ र बिकाऊ हुन खालको जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तरमा जोड दिइने छ ।”

अध्यक्ष नन्द प्रसाद चौलागाईले घोषणा पत्र अनुसार काम गर्न तथा जनताका भावनाको कदर गर्नका लागि ल्याइएका नीति कार्यक्रम कार्यान्वयनमा गम्भीर हुने बताउनुभयो । सीमित स्रोतका बीच असीमित नागरिकका चाहाना पुरा गर्न मुस्किल रहेको भन्दै सकेजती जनभावना अनुसार काम गर्ने उहाँको भनाई छ । 

बजेटमाथिको छलफलका लागि आगामी आइतबार सम्मका लागि तातोपानी गाउँपालिकाको ११ औँ गाउँसभा स्थगित भएको अध्यक्ष चौलागाईले जानकारी गराउनु भएको छ । 

https://ujyaalonepalnews.com/archives/22147

Previous articleएमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
Next articleपर्यटकको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।