भोलि १९औँ धान दिवस : धानको महत्त्व र गरिमा संस्कृतिसँग

काठमाडौँ । असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधवार औपचारिक रुपमा १९औँ धान दिवस मनाइँदै  छ । विश्वमा  झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली चामल हो । धान उत्पादन गर्ने मध्येमा नेपाल १७औँ स्थानमा पर्छ । विश्वका ६४ देशमा धान रोपाइँ हुन्छ ।  नेपालीको प्रमुख खाद्यान्न बाली चामल हो । 

धानको महत्त्व र गरिमा संस्कृतिसँग पनि जोडिएको छ । असार पन्ध्रकै दिन नेपालमा दही चिउरा खाने प्रचलन पनि छ । नेपाल सरकारको विसं २०६१  मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५ लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमा समेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रूपले धान दिवस मनाउँदै आएका छन् । यसवर्ष धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको छ ।  सरकारी आँकडा अनुसार झन्डै ३१ लाख हेक्टर जमिन खेतीयोग्य रहेकामा ४७ प्रतिशत जमिनमा मात्र रोपाइँ हुन्छ ।  त्यसमध्ये तराई क्षेत्रले  हिस्सा ७० प्रतिशतभन्दा बढी स्थान ओगटेको छ । कृषि तथा पशुपक्षी विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ । 

रोपाइँ गर्न पर्याप्त पानीको आवश्यकता पर्छ  तर अझैसम्म ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । सिक्टा, महाकाली, बबई, रानी जमरा कुलरिया, र भेरी बबईलगायत राष्ट्रिय गौरवका सिँचाइ आयोजनाले पूर्णता पाउन सकेका छैनन् । नेपालमा अधिकांश स्थानमा धानखेती आकासे पानीमा निर्भर छ । वर्षा नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २७ प्रतिशत रहेकामा धानको योगदान ११ प्रतिशत छ । धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ ।

कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्त्व रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन वृद्धिको विकल्प नरहेको जानकारी दिनुभयो ।”  

विभागका अनुसार  संसारमा झन्डै १७ करोड हेक्टर जमिनमा धान खेती हुन्छ । खाद्य एवं कृषि सङ्गठन (एफएओ) का अनुसार सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो । चीन पछि भारत, इन्डोनेसिया, भियतनाम, थाइल्याण्ड बङ्गलादेश, म्यानमार, , फिलिपिन्स, ब्राजिल, जापान, पाकिस्तान, कम्बोडिया, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, मिश्रपछि नेपाल अर्थात्   नेपाल विश्वको १७औँ धान उत्पादन गर्ने देश रहेको बताइएको छ ।  

नेपालमा चैते, बर्षे र घैँया, भदैया र हिउँदे धान खेती गरिन्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्ला हो । झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । 

विगत १५ वर्ष देखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषण गरेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालको हालको जनसङ्ख्या (झन्डै तीन करोड) जनतालाई पुर्‍याउन ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ  तर नेपालको उत्पादन भने जम्मा ५३/५४ लाख मेट्रिक टनमा सीमित छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो ।  

हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रय शक्तिमा भएको बढोत्तरीका कारण  पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरूप मसिना तथा बास्नादार (बासमती) चामलको आयातमा वृद्धि हुँदै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्त्वपूर्ण अन्न बाली हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्त्व छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ८२ जातका धानको विकास गरेको छ । जसमा ४२ जात हाइब्रिडका छन् । 

नेपालमा अघिल्लो वर्षको तुलनामा शून्य दशमलव दुई छ प्रतिशतका दरले धानखेती वृद्धि भए पनि उत्पादन भने आठ दशमलव शून्य चार प्रतिशतले घटेको छ । क्षेत्रफल बढे पनि उत्पादन घट्नुमा किसानलाई समयमा रासायनिक मल तथा बिउ तथा सिँचाइ सुविधा सहज नहुनु, युवा जनशक्ति खेती गर्नबाट पलायन हुनु, आदि कारणले धानको उत्पादनमा गिरावट आएको हो । नेपाल कृषि प्रधान देश हो । हाल ६२ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् । 

आज भन्दा ठिक ५४ वर्ष पहिले अर्थात् विसं २०२५ मा झन्डै ९३ प्रतिशत जनता कृषि पेशामा संलग्न थिए । चवन्न वर्षपछि कृषि पेशामा लाग्ने जनसङ्ख्या ३१ प्रतिशतले घटेको छ । सरकारले धान उत्पादन वृद्धिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानबालीका लागि पकेट, ब्लक, जोन तथा सुपर जोन जस्ता विशिष्टीकृत उत्पादन क्षेत्र निर्धारण गरी त्यस्ता उत्पादन क्षेत्रमा धानबालीको व्यवसायीकरण यान्त्रिकीकरण तथा औद्योगिकीकरणलाई प्रवद्र्धन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । रासस

https://ujyaalonepalnews.com/archives/22198

Previous articleसुदूरपश्चिममा ४० प्रतिशतमात्र रोपाइँ सम्पन्न
Next articleसीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार : मन्त्री रेग्मी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।