महालेखा परीक्षकको कार्यालय सदैव चनाखो र सक्षम हुनुपर्ने : राष्ट्रपति

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वजनिक निकायहरूबाट प्रवाह हुने नियमित सार्वजनिक सेवा सुधारका लागि सरकारलाई सुझाव दिन महालेखा परीक्षकको कार्यालय सदैव चनाखो र सक्षम हुनुपर्ने बताउनुभएको छ । 

महालेखा परीक्षक कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले महालेखा परीक्षकको कार्यालयले विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सार्वजनिक निकायमा देखिएका अनियमित र भ्रष्टाचारजन्य कार्यलाई नियन्त्रण गर्दै मुलुकमा विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । 

समारोहमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक क्षेत्रमा हुने गरेको चुहावट रोक्न महालेखा नियन्त्रक कार्यालयले दिने सुझाव सरकारकालाई मननयोग्य हुने बताउनुभयो । 

मन्त्री शर्माले सार्वजनिक संस्थाहरूमा आर्थिक अनुशासन कायम गर्दै पारदर्शी भएर जनताका लागि सेवा दिन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो । 

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संसारभरि  नै जोखिममा आधारित लेखा परीक्षण प्रणाली अपनाइने हुँदा नेपालको सन्दर्भमा पनि सोही प्रणालीकै आधारमा लेखा परिक्षण गरिनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी,  महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले यसै वर्षदेखि विद्युतीय प्रणालीमा आधारित लेखा परीक्षण विधि अपनाइएको जानकारी दिनुभयो ।  

महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । 

https://ujyaalonepalnews.com/archives/22246

Previous articleपर्वतमा एक वर्षमा तीन सय उद्योग थपिए
Next articleसामूहिक धान रोपेर सुनसरीमा मनाइयो राष्ट्रिय धान दिवस 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।