लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ

लुम्बिनी । किसानले धान रोप्ने समयमा पर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले मध्य असारसम्ममा पनि रोपाइँ गर्न पाएका छैनन् । 

मल र सिँचाइको अभावका कारण असार १५ सम्ममा लुम्बिनी प्रदेशमा ५० प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्ममा करिब ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । 

गत वर्ष यस अवधिमा प्रदेशभरिमा झण्डै ४६ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा तीन लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । 

धान रोपाइँ हुने जमिनको कूल क्षेत्रफलमध्ये यस वर्ष आजसम्म एक लाख चार हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले जानकारी दिनुभयो । 

प्रदेशका १२ जिल्लामध्ये रोपाइँ भएका जिल्लामा सबैभन्दा धेरै पश्चिम नवलपरासी जिल्लामा ८० प्रतिशत र सबै भन्दा कम बाँकेमा १३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । 

पश्चिम नवलपरासीमा २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ । यसमध्ये हालसम्म १६ हजार ९४० हेक्टरमा धान रोपाइँ सकिएको मन्त्रालयको तथ्याङ्क छ । यस्तै बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा हुने गर्छ । यहाँ यस वर्ष हालसम्म चार हजार ७४५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । 

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धानखेती हुने कपिलवस्तु हो । यस जिल्लामा कूल ७१ हजार २०० हेक्टर जमिनमा धान खेती हुने गर्छ । यस जिल्लामा अहिले सम्ममा जम्मा १२ हजार १०४ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । प्रदेशको दोस्रो धेरै धानखेती हुने जिल्ला रुपन्देहीमा भने हालसम्म ४१ प्रतिशत रोपाइँ सकिएको छ ।

यता लुम्बिनी प्रदेशमा सबैभन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाइँ सम्पन्न हुँदा रोल्पामा ६०।२० प्रतिशत रोपाइँ सकिएको छ । रुकुम पूर्वमा धान रोपाइँ हुने एक हजार ४१९.४२ हेक्टरमध्ये ९२२.६२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिँदा रोल्पामा चार हजार ३४० हेक्टरमध्ये दुई हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ ।

यस्तै तराई जिल्लाका धान उत्पादन हुने मुख्य दाङ र बर्दिया जिल्लामध्ये दाङमा कूल धान रोपाइ हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ४११ हेक्टर अर्थात् ३१.५० प्रतिशत क्षेत्रफलमा र बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७६।६८ हेक्टर अर्थात् ३४.७८ प्रतिशतमा धान रोपाइ सकिएको छ ।

यता प्रदेशका पहाडी जिल्ला अर्घाखाँचीमा धानखेती हुने कूल ८ हजार ५० हेक्टरमध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफल अर्थात् २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको गौतमले जानकारी दिनुभयो । 

यस्तै गुल्मीमा कूल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८५.७२ हेक्टर अर्थात् २७ प्रतिशतमा रोपाइँ सकिएको छ भने पाल्पामा सात हजार ७०६ हेक्टरमध्ये दुई हजार ६९७.१० हेक्टर क्षेत्रफल अर्थात् ३५ प्रतिशत रोपाइँ सकिएको छ । यता प्युठान ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कूल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टरमध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा रोपाइँका लागि प्रायः आकासे पानीको भर पर्नुपर्ने भएकाले यस वर्ष पानी पर्न केही ढिला हुँदा रोपाइँमा पनि ढिलाइ भएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । 

यस प्रदेशमा करिब ५० प्रतिशत जमिनमा आकासे पानीको भर पर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले दुई दिनदेखि लगातार पानी परेकाले असार भरिमा प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने बताउनुभयो ।

रोपाइँका समयमा सरकारले डिएपी र युरिया मलको व्यवस्थापन नगर्दा यस वर्ष धेरै किसानले मलबिनै रोपाइँ गर्नुपरेको किसानको गुनासो छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार साल्टटे«डिङ लिमिटेडले प्रदेशभरिका लागि अहिले डिएपी वितरण गरेको तर त्यो किसानका लागि पर्याप्त नभएको बताउनुहुन्छ । यस्तै युरिया भने धानमा छर्ने बेलासम्म आउने आश्वासन मिलेको बताउनुहुन्छ । रासस

https://ujyaalonepalnews.com/archives/22297

Previous articleचालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी, पुँजीगत खर्च ४० प्रतिशत मात्रै
Next articleपाँच बुँदे माग गर्दै मधेश प्रदेशको कृषि मन्त्रालयमा किसानहरूको धर्ना 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।