बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती

बागलुङ । बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती बागलुङमा सुरु भइसकेको छ । एक वर्ष अघि बागलुङको काठेखोला गाउँपालिका–१ पाला, करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको थियो ।

त्यस लगतै गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको सुरु भएको हो । यसैबीच बागलुङ बजार क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेतीको सुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ ।

file photo

आचार्यले रामरेखा र माझी बस्ती गरी दुई स्थानमा ड्रागन फ्रुट खेतीको थालनी गर्नुभएको छ । पछिल्लो समय निकै राम्रो मूल्य र बजार माग भएको फलफूल ड्रागन फ्रुटको बिस्तारै बागलुङमा व्यावसायिक उत्पादन गर्नका लागि खेती थालिएको हो । आचार्यले विसं २०७८ चैतमा रामरेखास्थित आफ्नै दुई रोपनी जग्गामा ड्रागन फ्रुट खेती थाल्नुभएको थियो । उहाँले ड्रागन फ्रुटका बिरुवा राम्ररी हुर्कन थालेपछि पुन रामरेखाकै माझी बस्ती नजिकै थप चार रोपनी जग्गामा ड्रागन फ्रुट खेती विस्तार गर्नुभएको छ । हाल उहाँको दुई स्थानमा दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा रहेका छन् ।

ड्रागन फ्रुटको महत्त्व थाहा पाएपछि पूर्वमन्त्री लोकेन्द्र विष्ट लगायतले गरेको खेती हेरेपछि आफूले बागलुङमा यसको सम्भावना देखेर ड्रागन फ्रुटको खेती विस्तार गरेको रामरेखा निवासी विमलेश आचार्यले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी रहनुभएका आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि रु ५० लाख लगानी गरिसक्नुभएको छ । उहाँले प्रति बिरुवा रु ४०० मा खरिद गरेको बताउनुभयो । ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायर अनिवार्य हुन्छ । उहाँले ६०० सिमेन्टका पोल र टायरमा दुई हजार १०० बिरुवा लगाउनुभएको छ । जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोल लगायतका लागि रु ५० लाखभन्दा बढी लगानी गरिसकेको भन्दै अझै लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । आचार्यले १४ थरी फलबाट आउने पोषण तत्त्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि यसतर्फ लगानी बढाएको बताउनुभयो ।

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरे पनि पछि राम्रो कमाइ हुने गरेको छ । आचार्यले ड्रागन फ्रुट रोपेको एक वर्षदेखि १८ महिनाभित्रै ड्रागन फ्रुट उत्पादन भइसक्ने बताउनुभयो । उहाँले ड्रागन फ्रुटको बोक्रा र काइनाको जुस प्रयोग गर्न सकिने बताउनुभयो । “रातो ड्रागन फ्रुटको मूल्य अहिले पनि बजारमा ८०० देखि एक हजार प्रति केजी छ, नेपालमा यसको उत्पादन बढ्दै गएपछि मूल्य केही घट्ला तर यसको बहु उपयोगिताका कारण बजारको माग धान्नै समस्या हुने देखिन्छ”, उहाँले भन्नुभयो “१४ भन्दा बढी फलफूलमा फाइने पोषण तत्त्व ड्रागन फ्रुटमा पाइने अध्ययनले देखाएको छ, अबको एक वर्षमा आफ्नो ड्रागन फ्रुटको व्यावसायिक उत्पादन भइसक्नेछ ।”

आचार्यले ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुआती लगानी नै धेरै भएको अनुभव सुनाउनुभयो । दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्ड हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ ।

ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललाई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ ।

यो फलमा औषधीय गुण समेत भएकाले यसको माग बजारमा उच्च रहेको छ । यसले कब्जियतलाई निको पार्ने अध्ययनले देखाएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिङ्क, वाइन र ब्रान्डी बनाउन समेत सकिन्छ ।
रासस

https://ujyaalonepalnews.com/archives/22367

Previous articleमोदीका किसानलाई दूधमा अनुदान
Next articleपाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।