Home Uncategorized पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

कास्की- पोखरामा हिजो साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सञ्चालन भएको अवार्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तानसमेत रहनुभएका शाही महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरे ।

खेलाडीले पछिल्लो एक वर्षका अवधिमा खेलेको राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रदर्शनलाई आधार मानेर विजेता घोषणा गरिएको मञ्चले जनाएको छ ।

शाहीले आफूसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र कराँतेका सरगम कुमाललाई पछि पार्दै दोस्रो पटक स्पोर्ट्स अवार्डको उपाधि जित्न सफल भएका हुन् ।

यसैगरी टेनिसका खड्काले पुरुषतर्फ मनोनयनमा परेका ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामालाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भई उनले पनि उपाधिसहित एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरे ।

‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भट्टलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाबाट सम्मान गर्नुभयो ।

उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले हासिल गरेका छन् । उत्कृष्ट प्रशिक्षक टेनिसका निरज थापा, उत्कृष्ट खेल सङ्घको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको उपाधि पत्रकार दीपक परियारले प्राप्त गरेका छन् । उत्कृष्ट सबै जनालाई जनही रु ३५ हजार र ट्रफी प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी, खेल सङ्घ तथा खेल पत्रकारलाई मुख्यमन्त्री पोखरेल, पोखरा महानगर प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

मञ्चले विसं २०७२ देखि खेलकुदका माध्यबाट राष्ट्रको शिर उँचो राख्न सक्षम खेलाडी तथा खेल क्षेत्रमा लागेका व्यक्तिहरुलाई हौसला प्रदान गर्न बर्सेनि स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।-

https://ujyaalonepalnews.com/archives/22394

Previous articleमुलुकमा कोरोना सङ्क्रमण फेरि बढ्दै, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै
Next articleकाभ्रेको भुम्लुमा श्रम अभियान सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।