गण्डकी प्रदेशमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह

कास्की । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रदेश सरकारले उद्यमी, व्यवसायीलाई आह्वान गरेको छ । यस क्रममा प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्यमी लगानीकर्ता सम्मेलनमार्फत उक्त आग्रह गरेको हो । 

सम्मेलनमा गण्डकी प्रदेशका उद्यमी व्यवसायी सहभागी थिए । त्यस अवसरमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै रुचिका क्षेत्रमा लगानी गर्न व्यवसायी र उद्यमीलाई आग्रह गर्नु भयो । 

‘प्रदेशमा ठुला परियोजनाहरू सञ्चालन गरिदिन लगानीकर्ताहरूलाई आह्वान गर्नु भएको थियो ,’। समृद्ध प्रदेश बनाउन राष्ट्रिय वा अन्तर्राष्ट्रिय लगानी नभई नहुने उहाँको  भनाइ थियो । मुख्यमन्त्री पोखरेलले जग्गा उपलब्ध गराउन कठिन हुने गरेको अनुभव सुनाउँदै  उद्यमीहरूले गर्ने लगानीको अधिकांश लागत जग्गामा लाग्ने गरेको पनि उहाँको  भनाइ थियो ।

उद्योग मन्त्री मणिभद्र शर्माले लगानीकर्तालाई गण्डकी प्रदेशले तय गरेका समृद्धिका आधारमा लगानीका लागि आग्रह गर्नु भयो । उहाँले  प्रदेशले पर्यटनलाई समृद्धिको प्रमुख आधार मानेको जानकारी दिनु भयो  । 

पोखराका मेयर धनराज आचार्यले पोखराको समृद्धिको आधार पनि पर्यटन नै रहेको भन्दै, ‘पोखराको पर्यटनमा खर्बौँको लगानी भएको छ, यो पनि एउटा उद्योग हो, सरकारले उद्योगको परिभाषालाई यसरी पनि हेर्नुपर्छ ।’ उहाँले  पर्यटन क्षेत्रका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिने जानकारी पनि दिनु भयो  । ‘हामी लगानीकर्तालाई रेड कार्पेट ओछ्याएर स्वागत गर्न तयार छौँ,’ मेयर आचार्यले भन्नु भयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जताको सरकारले सहजीकरण गरिदिन्छ, उद्यमी र लगानीकर्ता त्यतै जाने विचार प्रकट गर्नु भयो । तसर्थ उद्यमी व्यवसायीका लागि सजिलो र सुविधा उपलब्ध गराउन उहाँले  आग्रह गर्नु भयो । ‘राज्य सपोर्टिभ भयो भने छोटो समयमा धेरै काम गर्न सक्छौँ,’ ‘त्यसको प्रतिफल राज्यलाई पनि हुन्छ ।’  निजी क्षेत्रको लगानीलाई पनि राज्यले आफ्नै ठानेर काम गर्दा मलेसियामा समृद्धि हासिल भएको त्यहाँका एकजना पूर्वप्रधानमन्त्रीसँगको भेटवार्ता र अनुभव पनि कार्यक्रममा बाँड्नु  भएको थियो । 

प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकारले आयोजना तथा योजना बैङ्कहरू बनाएर लगानीकर्तालाई लगानीको क्षेत्र छुट्याइदिनुपर्ने बताउनु भयो । 

https://ujyaalonepalnews.com/archives/22407

Previous articleविज्ञापन क्षेत्रलाई मर्यादित बनाउन आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्छ  : मन्त्री कार्की
Next articleसभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।