आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक: मुख्यमन्त्री पोखरेल

लेखनाथ । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको राजधानी बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको बताउनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २६ औ स्थापना दिवस तथा २५ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले लगानी गरेर उद्योग धन्दा सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सृजना गरी स्वदेशमा नै रोजगारीका सम्भावना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्र र सरकारबीच सहकार्य अनिवार्य भएको बताउनुभयो ।

सोही अवसरमा गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले उत्पादन विना देश विकासको कल्पना गर्न नसकिने भएकाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग धन्दा सञ्चालनका लागि राज्यले लगानी बढाएको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेश उत्पादनलाई प्रथामिकतामा राखेर आयातित वस्तुको न्यूनीकरण गर्ने योजना सरकारले ल्याउनुपर्ने सुझाव दिनुभयो । पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.डा.प्रेम नारायण अर्यालले दक्ष जनशक्ति निर्माणको आधार भनेको राज्यको नीति भएकाले सोही अनुसार राज्यले पनि नीति बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ, नेपाली काँग्रेस कास्कीका सभापति किशोर बराल, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, पर्यटन व्यवसायी पुष्पराज अधिकारी, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्ध्र श्रेष्ठ लगायतले बिहान बेलुकाको दाल भातका लागि मात्र नभई व्यवसायको माध्यमबाट देश विकासको अभियानमा जोडिनुपर्ने विचार राख्नुभएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेयले गण्डकी प्रदेश स्तरीय औद्योगिक क्षेत्रको आवश्यकता, पोखरा र लेखनाथ मिलाएर महानगर बनाउँदा के पाइयो र के गुमाई साथै राष्ट्रिय उत्पादन बढाउनका लागि कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्ने सुझाव राख्नुभएको थियो ।

संघका महासचिव उपेन्द्रराज सुवेदी राजुले सञ्चालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/22470

Previous articleनेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो       
Next articleसामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।