मुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पुनः सुरु भएको छोरी शिक्षा बीमा/मुद्दति खाताका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले प्रदेशभरिका पालिका प्रमुखहरूलाई पत्र पठाउनुहुँदै प्रदेश सरकारले पुनः सुरु गरेको छोरी शिक्षा बीमा/मुद्दति खाता तयार गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

मधेस प्रदेशका सबै पालिकालाई पत्रमार्फत मुख्यमन्त्री राउतले यही असार २४ गतेसम्म सङ्कलन गरिने छोरी शिक्षा बीमाको फारम सङ्कलनमा सहयोग गर्न पालिका प्रमुखहरूसँग आग्रह गर्नुभएको हो ।

उहाँले लेख्नुभएको पत्रमा ‘२०७८ माघ १ गतेपछि जन्मिएका प्रदेशभित्रका छोरीको रु तीन लाखको बीमा प्रदेश सरकारले गर्ने भएको हुँदा यही असार २४ गतेभित्र आ-आफ्नो पालिकाका छोरीको फारम भर्न लगाई मधेस प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरिदिनु हुन अनुरोध भनी उल्लेख छ ।

मधेस सरकारको लोकप्रिय योजना ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको हो । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सञ्चालन भएको शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चुडामणि फुयालले जानकारी दिनुभयो ।

यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीको बीमा गरिँदै आएकामा अब ग्लोबल बैंकसँग सम्झौता गरी छोरी बीमा कार्यक्रम पुनः सुरु गरिएको निर्देशक फुयालले बताउनुभयो । सम्झौता पत्रमा प्रदेश सरकारका तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकका तर्फबाट ग्लोबल बैँकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

गत २०७८ माघ १ गतेपछि जन्मिएका छोरीका लागि सुरु गरिएको बीमा, २० वर्षपछि रु तीन लाख दिने गरी प्रतिबीमा रु ३७ हजार ४५७ मधेस सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ गत २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गर्नुभएको थियो ।-

https://ujyaalonepalnews.com/archives/22493

Previous articleआठ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा
Next articleउत्कृष्ट सहकारी पुरस्कृत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।