बर्खा लागेसँगै मेलम्चीको व्यापार, व्यवसाय सुस्त

0
114

सिन्धुपाल्चोक  । गत वर्षको बाढीबाट तङ्ग्रिँदै गरेको मेलम्ची बजारको चहलपहल फेरी हराउन थालेको छ ।

दैनिक करोड सम्मको कारोबार हुने सिन्धुपाल्चोककै प्रमुख व्यापारिक केन्द्र मेलम्ची बजारमा बर्खा लागेसँगै यातायात सञ्चालन तथा मानिसहरूलाई आवतजावत गर्ने पुल नहुँदा व्यापार व्यवसाय धराशायी बनेका छन् भने बजारको रौनकता हराउँदै गएको छ ।

चार गाउँपालिकाको व्यापारिक संगम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा कारोबार हुने गर्दथ्यो । 

गत वर्षको बाढीले कारोबार एकै झट्कामा झण्डै शून्यमा झारेको थियो । बाढीपछि बिस्तारै उठ्दै गरेको यहाँको व्यापार व्यवसाय बर्खा लागेसँगै फेरी सुस्ताउन थालेको स्थानीय कपडा व्यवसायी मीनकुमारी लामिछाने बताउनुहुन्छ ।

हेलम्बु, इन्द्रावती, पाँचपोखरी थाङ्गपाल गाउँपालिका र मेलम्ची नगरपालिकाको व्यापारिक संगम मेलम्ची बजार हो । यो बजारबाट विभिन्न गाउँमा थोक बिक्री समेत हुने गर्दछ । 

गत बर्ष बाढीले व्यापारिक केन्द्र मेलम्चीको करिब आधा भाग बगाएको थियो । लामो समयदेखि मेलम्ची बजारमा लाखौँ लगानी गरेर होटल व्यवसाय गर्दै आउनुभएका तीर्थ तामाङ, मानिसहरूको चहलपहल नुहुँदा व्यवसाय नै धराशायी भएको बताउनुहुन्छ । उहाँलाई बैङ्कको लाखौँ ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।

मेलम्ची बजारमा सामान्य चिया पसलदेखि दैनिक दुई तीन लाख रुपैयाँसम्म कारोबार गर्ने पसलहरू छन् । निर्माण सामग्री बिक्रेता र होटल तथा रिसोटहरू यहाँबाट धेरै कारोबार गर्नेमा पर्दछन् । 

व्यापारिक दृष्टिले जिल्ला सदरमुकाम चौतारा, बाह्रबिसे, खाडीचौर, जलवीरेको तुलनामा मेलम्ची अब्बल ठाउँ हो । बजारमा दैनिक मेला जस्तै लाग्ने भीडको चहलपहल अहिले शून्य भएको छ । जसका कारण बैङ्क तथा वित्तीय संस्थाहरूमा समेत नकारात्मक प्रभाव परेको छ भने ऋण लिएर कारोबार सञ्चालन गरिरहेका व्यापारीहरू मर्कामा परेको नेपाल बैङ्क मेलम्ची शाखाका प्रबन्धक रोशन तिवारीको भनाई छ ।

गत बर्ष इन्द्रावती र मेलम्ची नदीमा एकैसाथ आएको बाढीका कारण असुरक्षित बनेको मेलम्ची बजार क्षेत्रमा जोखिम अझै कायम रहेको विज्ञहरू बताउँछन् । तर स्थानीयहरू सरकारले बजार क्षेत्रका घरहरूको संरक्षण गर्दै अर्थतन्त्रको पाटोलाई दीर्घकालीन रुपमा ब्युँताउँदै जानुपर्ने अडान राख्दै आएका छन् । 

https://www.ujyaalonepalnews.com/archives/22694

Previous articleविविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीय : सभामुख
Next articleबुढेसकालको मायालुले २५ लाख झ्वाम पारेपछि भरतपुरका प्रेमीले गुहारे प्रहरी