जागिरे जीवन छोडेर व्यावसायिक मौरी पालनमा

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारीका एक युवा जागिरे जीवन छाडेर व्यवासयिक मौरी पालनमा लाग्नुभएको छ । 

अर्जुनचौपारी गाउँपालिका–२ लामडाँडाका युवा गङ्गा गुरुङले ४ वर्ष शिक्षक र ५ वर्ष प्राविधिक सहायकको रुपमा जागिर गरे पनि आफै केही गर्नुपर्छ भन्ने हेतुले जागिरे जीवन छाडेर व्यवासयिक मौरी पालनमा लाग्नुभएको हो । 

विगत ५ वर्षदेखि गुरुङ व्यावसायिक मौरी पालनमा व्यस्त हुनुहुन्छ । ९ वर्षको जागिरे जीवनको अनुभव गर्नुभएका गुरुङलाई मौरी पालनमा लाग्न भने आफ्नै सहपाठीले प्रेरित गर्नुभएको हो । 

भीरकोटमा विगत लामो समयदेखि मौरी पालन गर्दै आउनुभएका रत्न गुरुङकै घरमा आउजाउ गर्ने क्रममा उहाँलाई मौरी पालनमा लाग्न प्रेरित गरेको हो । 

गुरुङले भन्नुभयो, “विगतको समयमा त गाउँमा मौरी पालेर के हुन्छ र भन्ने थियो तर अहिले बिस्तारै मानिसमा चेतनाको विकास भएको मौरी पालनबाट पनि आम्दानी गर्न सकिँदो रहेछ भन्ने बुझेका छन् ।”

जागिरभन्दा आफ्नै सानो भए पनि व्यवसाय सुरु गर्नुपर्छ भन्ने हेतुले उहाँले गाउँमा पसल समेत सञ्चालन गर्दै आउनुभएको छ । उहाँले पसलसँगै मौरीलाई समेत प्राथमिकतामा राख्नुभएको छ । 

सुरुमा ११ घारबाट मैरी पालन गर्न सुरु गर्नुभएका गुरुङको घर वरिपरि अहिले ४५ घार सेताम्मे देखिन्छ । गत असारमा मात्रै उहाँले ४० गोला घार १० हजारका दरले बिक्री गरेको बताउनुभयो । वार्षिक ५ लाखको कारोबार मौरी व्यवसायबाट मात्रै गर्दै आउनुभएका गुरुङलाई जागिरे जीवन त्यागेर मौरी पालनमा लागेको हुनै पछुतो छैन । उहाँ भन्नुहुन्छ, “जागिरे जीवन छाडेर कुनै पछुतो छैन । जे गरेँ ठिक गरेँ भन्ने लाग्छ ।”

अहिले अर्जुनचौपारी गाउँपालिका भरी मौरी पालक व्यवसायीहरू विस्तार हुनुभएको छ ।  कृषि ज्ञान केन्द्रबाट साढे ३ लाख र पालिकाबाट समेत अनुदान प्राप्त गर्नुभएका गुरुङलाई उक्त अनुदानले व्यवसायमा लाग्न झनै प्रेरणा जागेको बताउनुहुन्छ । 

महभन्दा गोला घारलाई नै प्राथमिकता दिनुभएका गुरुङले कृषकहरूलाई आवश्यक आधारभूत ज्ञान समेत दिँदै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको मह पोखरा काठमाडौँसहित तराईका विभिन्न जिल्लाहरूमा समेत पुग्ने गरेका छन् । 

“महको माग अत्यधिक धेरै छ । महको माग अनुसार परिपूर्ति गर्न सकिएको छैन ।” उहाँ भन्नुहुन्छ । मौरी पालनका लागि अन्य व्यवसायमा जस्तो धेरै मेहेनत गर्न नपर्ने भएपछि आफू यसतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । मौरीको रेखदेख र व्यवस्थापनमा मात्रै ध्यान दिन सकियो भने मौरीले धेरै उत्पादन दिने उहाँको अनुभव छ । 

मौरीका लागि उहाँले टस समेत निर्माण गर्नुभएको छ । उहाँले मौरी पालन दीर्घकालीन होस् भन्ने हेतुले  घर वरिपरि मौरी घारका लागि टसहरू निर्माण गर्नुभएको हो । 

युवाहरूलाई सम्बन्धित निकायले समेत आवश्यक प्रोत्साहन गर्न सके बिदेसिने युवाहरूको सङ्ख्या कम हुने उहाँ बताउनुहुन्छ । 

https://ujyaalonepalnews.com/archives/22701

Previous articleबढ्यो सुनको मूल्य: चाँदीको स्थिर
Next articleचितवनमा ड्राईभर झुक्किदाँ बस मर्मत गर्न गाडी मुनि छिरेका सहचालकको चेपिएर मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।