उत्पादन वृद्धिका लागि जुम्लामा पहिलो पटक मार्सिधानको बिमा

0
31

जुम्ला । मार्सिधानको उत्पादन बढाउन, प्राकृतिक प्रकोप प्रभावितलाई राहत उद्धार तथा क्षतिपूर्ति दिनका लागि जुम्लामा पहिलो पटक मार्सिधानको बिमा गरिएको छ । 

विश्वकै अग्लो स्थानमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौर का ६ जना किसानले कर्णालीमै पहिलो पटक मार्सिधानको बिमा गरेका हुन् । मार्सी धानमा रोग किराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपले उत्पादनमा  कमी आउन थालेको बेला बिमा गरेपछि किसान उत्साहित छन् । 

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले मार्सिधानको जर्गेना गर्न र उत्पादन बढाउन बिमा शुरु गरेपछि किसान उत्साहित भएका हुन् । प्रति रोपनी ४९ रुपैयाँ प्रिमियम शुल्क किसानले तिरेका छन् । 

भने असिना पानी, बाढी पहिरोबाट क्षति भएमा प्रति रोपनीको ४ हजार ९ सयका दरले एक किसान कम्तीमा २६ हजार बढी क्षतिपूर्ति पाउने शिखर ईन्सोरेन्स कम्पनीका शाखा प्रबन्धक रिसिराम पाण्डेले बताउनुभयो । उहाँका अनुसार पातारासी ३ का कृष्ण बहादुर महतारा,पदम बहादुर महतारा, गणेश बोहोरा लगायत ६ जना किसानले पहिलो पटक मार्सिधानको बिमा गरेका हुन् ।

स्याउ र पशु बिमाबापत अन्य किसानले राहत पाएपछि बिमाको महत्त्व बुझ्दै मार्सिधान किसानहरू बिमाको पहुँचमा आएको पाण्डेको भनाई छ ।  मार्सिधान बिमालाई जिल्लाव्यापी बनाउन सचेतना वृद्धिमा जोड दिइएको छ । बिमाको फाइदाबारे नबुझेकै कारण विगतमा छुटेका किसानहरू आजभोलि बिमाको पहुँचमा आउन थालेका हुन् । समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धानको पहिचान बचाउन पनि बिमा थालिएको कम्पनीले जनाएको छ ।

जुम्ली कालीमार्सी धानको उत्पादन पछिल्ला वर्षमा क्रमिक रुपमा घट्दै गएको छ । बाढि पहिरो,असिना पानी पर्नु, खेतीयोग्य जमिन बाझिँदै जानु, युवा पलायन बढ्नु लगायतका कारणले मार्सिधान उत्पादन घट्दै गएको हो । आगामी आवका लागि ३ अर्ब ८६ करोड बजेट विनियोजन गरेका जुम्लाका स्थानीय तहले मार्सीधान संरक्षणमा ठोस नीति र बजेट छुटाएका छैनन्  । जसका कारण मार्सिधान किसान निरुत्साहित हुँदै गएका छन् । 

गएको कार्तिकमा बाढी आउँदा जुम्लाको १८ हेक्टर मार्सिफाँट डुबानमा पर्दा झण्डै १२ सय मेट्रिक टनले मार्सिधान उत्पादन घटेको छ । गत वर्ष ६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा चालू आवमा ४ हजार ८ सय मेट्रिक टन मात्रै धान उत्पादन भयो ।बाढी पहिरोबाट क्षति व्यहोरेका जुम्लाका १ हजार २ सय किसानले अहिले सम्म उचित राहत सम्म पाएका छैनन् ।

छ किसानले गरे धानको बिमा

पातारासी–३ का किसान कृष्णबहादुर महातराले २ हजार ७ सय २५ वर्ग मिटर जग्गामा मार्सी धान रोपेका छन् । २ साता अघि मात्रै प्रिमियम बापत ३ सय ३५ रुपैयाँ तिरेर उनले उक्त खेतीको बिमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए उनले बिमाबापत २६ हजार ५ सय रुपैयाँ पाउनेछन् । 

साथै पातारासी–३ कै पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बिमा गरेका छन् । २ सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बिमा गरेका उनले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउने छन् । 

बिमाले विपदबाट हुने क्षतिको राहत दिने कुरा थाहा पाएपछि बिमा गरेका हौ । पातारासी–३ का गणेश बोहोराले भन्नुभयो,“विभिन्न कारणले पछिल्लो समय मार्सिधान उत्पादन घट्दै छन् । बिमा नगरे बीउ धान किन्न पनि मुस्किल हुने देखियो । मार्सिधान जोगाउन र उत्पादन बढाउन पनि बिमा गरेका हौ । निकै खुसी छु । अब उत्पादन बढ्ने र क्षतिको राहत पाउने विश्वास छ ।”

छुमचौरमा झन्डै ५५० वर्ष अघिदेखि धान खेती गर्न थालिएको बताइन्छ । केही वर्षयता रोग किराको संक्रमण बढेर उत्पादनमा ह्रास हुन आउन थालेपछि किसानले धान रोप्नै छाडेका थिए । 

जुम्लाको कुल २९ सय हेक्टरमा ३ धानको खेती हुन्छ । जसमध्ये १५ हेक्टरमा मात्रै काली मार्सिधानको खेती हुन्छ । भने क्षेत्रफलमा उन्नत जातको धान खेती हुन्छ । कृषि उत्पादन बढाउन र राहत क्षतिपूर्ति दिन ग्रामीण स्तरमा बिमाको पहुँच विस्तारमा जोड दिन आवश्यक छ ।

https://www.ujyaalonepalnews.com/archives/22730

Previous articleविविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीय : सभामुख
Next articleबुढेसकालको मायालुले २५ लाख झ्वाम पारेपछि भरतपुरका प्रेमीले गुहारे प्रहरी