कास्की । कास्कीमा ८५ प्रतिशत धान रोपाई सकिएको छ । अहिले सम्म १५ हजार ४ सय ७ हेक्टरमा रोपाइ भइसकेको छ ।
कास्कीमा अघिल्लो वर्ष १८ हजार १ सय २७ हेक्टरमा रोपाई भएको थियो । अघिल्लो वर्ष भन्दा कम क्षेत्रफलमा रोपाई भएको ज्ञान केन्द्र कास्कीका प्रमुख सालिकराम अधिकारीले बताउनुभयो ।


केही समय अगाडि कास्कीको २७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो भने यस क्षेत्रको उत्पादकत्व ३ मेट्रिक टन प्रतिहेक्टर रहेको थियो ।
कास्कीमा विशेष गरी उन्नत जातमा सुधारिएको जेठोबुढो, मन्सुली, खुमलचार, राधा, माछापुच्छ्रे, बिध्यश्वरी, ताईचुङ, मकवानपुरे, र स्थानीय जातमा पहेँले, बिरमफुल, अनदी, जर्नेली, गुदी लगायतका धानको जातहरू लगाउने गरिएको छ ।
रासायनिक मल नपाउँदा समस्या खेप्नुपरेको पोखरा २६ का किसान बालकृष्ण अधिकारीको गुनासो छ ।

जिल्ला कृषि ज्ञान केन्द्र कास्कीका अनुसार केही दिनदेखि पानी नपर्दा धान रोपाइँ प्रभावित भएको छ । गएको वर्ष कास्कीमा साउन पहिलो हप्ता सम्म ९७ प्रतिशत धान रोपाइ भएको थियो । यो वर्ष पानी तथा रोपाइमा आवश्यक पर्ने मल अभावका कारण रोपाइ घट्ने देखिएको ज्ञान केन्द्र कास्कीका प्रमुख सालिकराम अधिकारी बताउनुहुन्छ ।
कास्कीमा यो वर्ष १७ हजार हेक्टरमा धान रोपाइ हुने अनुमान गरिए पनि खेती योग्य जमिनमा धमाधम घरहरू निमार्ण भएका कारण रोपाइ घट्दै गएको छ ।
कास्कीका कतिपय क्षेत्रमा लगाइएको धानमा हिस्पा, पातबेरुवा र गबारो किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुरुवातमै धानमा देखिन सक्ने रोगको प्रकोप तथा अन्य समस्या प्रति उच्च सतर्कता अपनाउन ज्ञान केन्द्रले आग्रह गरेको छ ।
https://ujyaalonepalnews.com/archives/22787


