उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी। समयमा राम्ररी खेती लाउन नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएएका छन् । बीउ, मलको अभाव र समयमा रोपाइँ सक्न नपाएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेको हो ।

जेठ २२ भित्र ब्याड राखी सकेर असारको अन्ततिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । “जेठको तेस्रो साताभित्र ब्याड राख्न सकिएर त्यो बीउ असारभरिमा रोप्न पाए समयको खेती हुन्थ्यो”, जिल्लाको भङ्गाहा–५ सिद्धपुरका ६० वर्षीय किसान बेचन मण्डल भन्नुहुन्छ, “समयमा रोपिएको धानमा पानी, मल र गोडमेलको चाँजो ठिकठिक मिले धान राम्रो फल्छ ।” तर यसपालि सुरुमा बीउ, मल नपाइनुले रोपाइँ धकेलिएर सबै खेतमा धान रोप्न नसकिने छाँटले उत्पादन घट्ने चिन्ता परेको मण्डल बताउनुहुन्छ ।

जिल्लामा परम्परागत रैथाने धान भदौ–१५ सम्म खरुवन रोप गर्दा पनि धेरथोर उत्पादन हुने गरेको यहाँका किसान विगत सम्झन्छन् । तर दुई दशकयता रैथाने धानको बीउ नै लगभग मासिएको हुँदा विकासे जातका धान असारभरि शाहीरोप (बीउरोप) र साउनभरिमा खरुवन (कलम, पहिलोपटक रोपिएको बीउको रोपो गाँजिएपछि त्यो उखालेर रोपिने बेर्नालाई खरुवन भनिन्छ) रोपीसकेमात्र धान राम्रो फल्ने किसानको अनुभव छ ।

“विकासे जातका धान कात्तिकमै पाक्ने हुन्, त्यसैले खरुवनकै रोप पनि साउन २२ भित्र सक्नुपर्छ”, बेचनकै छिमेकी परेखन सादा भन्नुहुन्छ, “यसपालि त असार सकिनै लाग्दासम्म बीउकै रोप एकतिहाई सकिएको छैन, के गर्ने होला ?” धान सामान्यतया बीउ रोपकै खेती भएपनि कहिले कहिले बीउ राम्ररी नउम्रने, नसप्रिने र बाढीकटानले क्षति गर्ने हुँदा खरुवनले काम चलाउनु परेको किसान बताउँछन् ।

जिल्लामा चरणक्षेत्र मासिएर पशुपालन घट्दै गएपछि रासायनिक मलमा निर्भरता बढ्दैछ । खेतीका बेला मल नपाएर राम्ररी खेती लाउन नपाइएको किसान बताउँछन् । यसपालि धान लगाइने जम्मा खेतको एकतिहाई क्षेत्रफलको पनि रोपाइँ अहिलेसम्म नसकिँदा उत्पादनमा असर पर्ने बर्दिबास–९ पशुपतिनगरका किसान रामचन्द्र महतो बताउनुहुन्छ ।

जिल्लामा करिब ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ (कुलो/नहर) को प्रबन्ध छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ भने हालसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको भएपनि अत्तालिनु पर्ने अवस्था नभएको बताउँछन् । यसपालि किसानले बीउ ढिलो राखेका हुँदा बेर्ना साउन १५ सम्म नबुढिने वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादव बताउनुहुन्छ । “नबुढिएको बीउ (बेर्ना) साउन १५ सम्म रोप्दा हुन्छ, त्यसपछि बीउ अपुग हुँदा खरुवन लगाउन सकिन्छ”, डा. यादव भन्नुहुन्छ, “अहिले नै आत्तिनु पर्दैन, बीउ रोप्दै जाँदा हुन्छ, साउन १५ सम्मको बीउ रोपले राम्रै उत्पादन दिन्छ ।”

किसानले आफ्नै रेखदेखमा बीउ धान पनि उत्पादन र भण्डारण गर्नसक्ने डा. यादवको भनाइ छ । “किसानले कृषि प्राविधिकको रेखदेख र सल्लाहमा रैथाने जातका धान र अन्य विकासे जातका पनि आफैँ बीउ धान उत्पादन र भण्डारण गर्न सक्छन्, अब हामी किसानलाई यो सल्लाह दिन्छौ ।” बीउ आफैँ उत्पादन र भण्डारण गर्न सके बजारको कमसल बीउबाट नठगिने र उत्पादन पनि राम्रो हुने डा. यादवको भनाइ छ ।

किसानले आफ्नै ओरपरका सड्ने, गल्ने झारपात, गाईबस्तुको गोबर खाल्डामा राखेर बनाउने कम्पोष्ट मल अत्यन्त उर्वर हुने कृषिविज्ञ बताउँछन् । “मल पाएन भनेर रोइकराइ गरेर के गर्नु ? हाम्रो उत्पादन छैन, अरू देशकै भर हो, त्यसैले किसान आफैँले मल बनाउने तत्परता देखाउन पर्छ” डा. यादव भन्नुहुन्छ, “आफैँले बनाइएको कम्पोष्ट मलले जग्गाको उर्वरा शक्ति पछिसम्म कायम राख्छ ।” यसबाहेक मधेशमा धान रोपिनुअघि ढैंचा (मलका रुपमा लगाइने वनस्पति) लगाएर खेतमै सडाउन सके राम्रो मल हुने डा. यादवको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/22814

Previous articleकृषि विकास बैङ्कद्वारा पार्क बनाउन सहयोग
Next articleसदनमा अड्किएका विधेयकको अवस्था हेर्न विशेष संसदीय समिति गठन गर्नुपर्छ : दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।