खान र लान पल्केका अवसरवादीहरुलाई भोट नहाल्नुस् : ओली

विराटनगर : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो निर्वाचनमा गम्भीरतापूर्वक मतदान गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन्।

शुक्रबार विराटनगरमा अनेरास्ववियुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन्। उनले मुलुकलाई विकासको दिशामा अघि लैजाले पार्टीलाई मतदान गर्नुपर्ने बताए। ‘विचारहीन, गन्तव्यहीन, दिशाहीन पार्टीहरुलाई मतदान गर्न हुँदैन,’ उनले भने, ‘लान पल्केका, खान जन्मेका अवसरवादीहरुका लागि तपाईँहरुको पहिलो भोट खेर जानुहुँदैन।’

पहिलोपटक मतदान गरिरहेका विद्यार्थीहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियता र देशभक्तिका लागि मतदानको आवश्यकता रहेको जिकिर गरे। लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, सुरुङ मार्ग तथा निःशूल्क खानेपानी वितरण लगायतको पक्षमा मतदानको आवश्यकता रहेको भन्दै उनले घुमाउरो शैलीमा एमालेलाई मतदान गर्न आग्रह गरे।

त्यसअघि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग राजनीतिक कुरा मात्र भएको बताए। गठबन्धन भन्ने बित्तिकै इरिटेट हुन्छ भन्दै उनले बिहीबार भएको करिब २ घण्टाको कुराकानीलाई राजनीतिक रुपमामात्र लिन अनुरोध गरे। आगामी मंसिर ४ पछि जनताले राष्ट्रिय फैसला गर्ने भएकाले जनताको मतको रक्षामा अहिलेदेखि नै जुट्नुपर्ने उनले बताए।

https://ujyaalonepalnews.com/archives/24166

Previous articleसपनामा आएर दुःख दिने गरेको विषयमा विवाद हुँदा एकै परिवारका ३ जनाको ह’त्या
Next articleनागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।