धर्मका नाममा ढुंगा पूज्दै हिँड्ने कुरा विज्ञानसम्मत छैनः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले धर्मका नाममा ढुंगा पूज्दै हिँड्ने कुरा विज्ञानसम्मत नभएको दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताएका हुन्।

अध्यक्ष दाहालले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने बताए। उनले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठूलो वहस चलाउन आवश्यक रहेको बताए।

उनले नाट्यकार बालकृष्ण समले ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको जिकिर गरे। अध्यक्ष दाहालले यस्ता संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताए। उनले विज्ञानको दुरुपयोग र सदुपयोग दुवै हुने उल्लेख गर्दै विज्ञानको धेरै भन्दा धेरै सदुपयोग गरी देशको विकास गर्न जरुरी रहेको पनि बताए।

सही विचारलाई बोकेर विज्ञानको प्रचारप्रसार र प्रयोग गर्नसके जनताको विकासलाई सहयोग पुग्ने उनको भनाइ थियो। अध्यक्ष दाहालले देश विकासका लागि सबैले आफ्नो सोचाइ र हेराईको दृष्टिकोणलाई बदल्न वैज्ञानिक छलफल गर्न आवश्यक रहेको बताए।

https://ujyaalonepalnews.com/archives/24403

Previous articleदसैं टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा
Next articleयोंग स्पोर्ट्स क्लब रत्ननगरको भवन उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।