नेप्से २२ महिना यताकै न्यून बिन्दुमा

0
63

४ असोज, काठमाडौं । सेयर बजार परिसूचक नेप्से करिब २२ महिना यताकै न्यून बिन्दुमा झरेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा झरेको थियो भने १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो ।

त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौबाट नेप्सेमा गिरावट सुरु भएको थियो । नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २२ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो । ९ असारमा २०७९ मा १८४८.२८ अंकसम्म झरेर पुन उकालो लागेको नेप्से करिब ३ महिनापछि त्यसभन्दा तल झर्दै २२ महिना यताकै नयूनत बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै ३.८३ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा लगातार गिरावट हुँदा कारोबार रकम पनि पछिल्लो केही महिना यता १ अर्बकै हाराहारीमा रहेको छ । गत साता १ अर्बबाट पनि तल लागेको कारोबार रकम आइतबार बढेर १ अर्ब ६० करोड पुगेको थियो । मंगलबार पुनः घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको ५ करोड ६५ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको ५ करोड ३५ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको करिब ४ करोड ७४ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर हुँदा ७ कम्पनीको मात्रै बढेको छ । स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.९२ प्रतिशतले वृद्धि हुँदा एनएमबि ५० म्युचुअल फण्डको इकाइ मूल्य ३.८७ प्रतिशत र आदर्श लघुवित्तको सेयर मूल्य २ प्रतिशतले वृद्धि भएको छ ।

यता कालिका पावरको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बरुण हाइड्रोपावरको सेयर मूल्य ८.१९ प्रतिशतले गिरावट भएको छ ।

https://www.ujyaalonepalnews.com/archives/24423

Previous articleकंकाली युवा जागरण क्लबले चंगाचेट फेस्टिवल र सांस्कृतिक कार्यक्रम गर्दै
Next articleचितवनका सञ्चारकर्मी रामु आचार्यको पहिलो कोसेली ‘पानी सेती’ को सार्वजनिक