तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा गुड्दै गरेको मोटरसाइकलको पांग्रामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ । व्यास नगरपालिका–५ पाटनबाट शनिबार दिउँसो झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पांग्रामा बेरिँदा हात चुँडिएको प्रहरीले जनाएको छ ।
उनी दिदीका छोरासँग मोटरसाइकलमा सवार थिइन् । उनको बायाँ हात कुहिनोभन्दा तलबाट छुट्टिएको प्रहरीले जनाएको छ । घाइते थापालाई दमौली अस्पतालमा प्राथमिक उपचार गरी हेलिकप्टरबाट काठमाडौं लागिएको छ । घाइते थापाकी छोरी र चालक भने सकुशल छन् ।

बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते
१२ कात्तिक, काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ । प्रारम्भिक अनुसन्धानमा पुरानो बम खेलाउँदा विस्फोट भएको देखिएको डीएसपी रिमालले बताए । ‘घटनाको बारेमा यो भन्दा बढी केही जानकारी आएको छैन, अनुसन्धान भइरहेको छ’ डीएसपी रिमालले भने ।
https://ujyaalonepalnews.com/archives/24798


